दफा २३
विवरणपत्र प्रकाशन गर्नु पर्ने
: (१) पब्लिक कम्पनीले आफ्नो धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै विवरणपत्र प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवरणपत्र प्रकाशन गर्नुअघि कम्पनीका सबै सञ्चालकहरुले
विवरणपत्रमा सहीछाप गरी स्वीकृतिको लागि धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम धितोपत्र बोर्ड समक्ष लिखित रुपमा निवदेन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम धितोपत्र बोर्डले स्वीकृत गरी सार्वजनिक निष्काशनको अनुमति
प्रदान गरी त्यस्तो विवरणपत्रको एक प्रति कार्यालयमा दर्ता नगराएसम्म कुनै पनि कम्पनीले वा
सो कम्पनीको तर्फबाट कुनै व्यक्तिले त्यस्तो कम्पनीको विवरणपत्र प्रकाशन गर्न गराउन हुँदैन ।
(४) उपदफा (२) बमोजिम पेश भएको विवरणपत्रमा कुनै महत्वपूर्ण कुरा उल्लेख गर्न
छुट भएको वा अनावश्यक कुरा उल्लेख भएको देखिएमा धितोपत्र बोर्डले त्यस्तो विवरणपत्रमा
कानून बमोजिम आवश्यक संशोधन वा थपघट गर्न लगाई प्रकाशन गर्न स्वीकृति प्रदान गर्नेछ ।
(५) उपदफा (२) बमोजिम पेश भएको विवरणपत्र धितोपत्र बोर्डद्वारा स्वीकृत भएमा
सम्बन्धित कम्पनीले सो कुराको जानकारी लिखित रुपमा धितोपत्र बोर्डको स्वीकृतिपत्रको प्रतिलिपि
सहित कार्यालयलाई दिनेछ र सो जानकारी प्राप्त भएपछि कार्यालयले यस दफा बमोजिम
विवरणपत्र दर्ता गर्नेछ ।
तर यस ऐनमा व्यवस्था भएका कुनै कुरा पालना नभएको देखिएमा कार्यालयले दर्ता गर्न
इन्कार गर्न सक्नेछ ।
(६) कार्यालयले उपदफा (५) बमोजिम दर्ता गरेको विवरणपत्रको प्रतिलिपि कुनै पनि
व्यक्तिले माग गरेमा तोकिएको शुल्क लिई दिनु पर्नेछ ।
(७) कम्पनीले उपदफा (१) बमोजिम विवरणपत्र प्रकाशन गर्दा सो विवरणपत्र धितोपत्र
बोर्डबाट स्वीकृति प्राप्त गरेको र कार्यालयमा दर्ता गरेको कुरा मिति समेत उल्लेख गरी खुलाएको
हुनु पर्नेछ ।
(८) प्रत्येक विवरणपत्रको आवरण पृष्ठमा त्यस्तो विवरणपत्र यस दफा बमोजिम दर्ता
भएको र सो विवरणपत्रमा उल्लिखित कुराहरुका सम्बन्धमा धितोपत्र बोर्ड वा कार्यालयले कुनै पनि
किसिमको जिम्मेवारी बहन गर्नु नपर्ने कुरा समेत उल्लेख गर्नु पर्नेछ ।
(९) धितोपत्र बोर्डले कुनै कम्पनीको विवरणपत्र स्वीकृत गर्नुअघि सम्बन्धित कम्पनीले यस
ऐनको व्यवस्थाको पालना भएको सम्बन्धमा धितोपत्र बोर्ड समक्ष उद्घोषण गर्नु पर्नेछ र सो
सम्बन्धमा धितोपत्र बोर्डले आवश्यक देखेमा कार्यालयको राय लिन सक्नेछ ।
(१०) विवरणपत्र प्रकाशन गर्दा पुरा गर्नु पर्ने अन्य कार्यविधि र विवरणपत्रमा खुलाउनु पर्ने
कुराहरु धितोपत्र कारोबार सम्बन्धी प्रचलित कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।