१८. शासकीय सुधार एकाईको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २९ बमोजिम गठन हुने शासकीय सुधार एकाईको प्रमुख काम मन्त्रालयबाट सम्पादन हुने कार्यहरुलाई शासकीय सुधारको मान्यता अनुरुप निरन्तर रुपमा सुधार गर्ने नीति अख्तियार गरी कार्यान्वयन र सञ्चालन गर्न अभिप्रेरित गर्नु हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकुल असर नपर्ने गरी शासकीय सुधार एकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) मन्त्रालयबाट सम्पादन हुने काम सम्बन्धी कानून, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने,
(ख) मन्त्रालय सम्बन्धी कार्य प्रक्रिया र कार्यविधि सुधारका लागि निरन्तर रुपमा क्रियाशील रहने,
(ग) सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताहरुको प्रयोगबाट कार्यालयको कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन प्रयासरत रहने,
(घ) शासकीय सुधारको सम्बन्धमा तालीम, गोष्ठी र अन्तरक्रियाहरु सञ्चालन गर्ने, गराउने,
(ङ) शासकीय सुधारलाई शासन व्यवस्थाको अभिन्न अंगको रुपमा विकास गर्ने,
(च) सार्वजनिक सेवा वितरण र शासकीय सुधारको सम्बन्धमा अवलोकन र अनुगमन गरी मन्त्रालयबाट सम्पादन हुने काम कारबाहीलाई मितव्ययी, दक्ष र जनमुखी बनाउने ।