दफा ५३
शेयर बापतको रकमको भुक्तानी
: (१) शेयर बापतको रकम नियमावली बमोजिम माग गरिएको
अवधिभित्र भुक्तान गरी चुक्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कम्पनीले किस्ता माग गर्दा प्रत्येक शेयरधनीको नाममा
बुझाउनु पर्ने किस्ता रकम, समय र स्थान खोली कम्तीमा तीस दिनको अवधि दिई तोकिए
बमोजिमको ढाँचामा लिखित सूचना पठाउनु पर्नेछ । पब्लिक कम्पनीले त्यस्तो सूचना
राष्ट्रियस्तरको दैनिक पत्रिकामा समेत कम्तीमा Þदुईपटक प्रकाशन गर्नु पर्नेछ ।
(३) कुनै शेयरधनीले शेयर बापत भुक्तान गर्नु पर्ने रुपैयाँ उपदफा (२) मा उल्लिखित
अवधिभित्र भुक्तान नगरेमा सो अवधि नाघेको मितिले तीन महिनाको थप अवधि दिई सो
अवधिभित्र बुझाउन ल्याएमा तोकिए बमोजिमको दरले ब्याजसमेत लगाई बुझिलिने र सो
अवधिभित्र पनि बुझाउन नल्याए निजको शेयर जफत हुने कुरा स्पष्ट खोली सम्बन्धित
शेयरधनीलाई सूचना दिनु पर्नेछ । पब्लिक कम्पनीका हकमा त्यस्तो सूचना राष्ट्रियस्तरको दैनिक
पत्रिकामा कम्तीमा तीनपटक प्रकाशन गराउनु पर्नेछ । सो बमोजिमको सूचनाको म्यादमा पनि
किस्ता नबुझाएमा कम्पनीले जुन शेयरको सम्बन्धमा सो सूचना दिएको हो सो शेयर बापत
भुक्तान भएको रकम वा सोशेयर बापत कुनै लाभांश रोक्का भएको रहेछ भने सो रकम समेतले
खामेजति सङ्ख्याको शेयर निजको नाममा कायम राखी बाँकी शेयर वा सम्पूर्ण शेयर जफत गर्न
सक्नेछ ।
तर शेयर जफत गर्नुअघि कम्पनी खारेजी वा दामासाहीमा परिसकेको रहेछ भने जफत
हुन सक्ने शेयर बापत बुझाउन बाँकी रकम प्रचलित कानून बमोजिम ऋणसरह असुल गर्न
सकिनेछ ।
(४) उपदफा (३) बमोजिम शेयर जफत भएकोमा सञ्चालक समितिले त्यसरी जफत
भएका शेयर बापत भुक्तानी भइसकेको रकम र त्यस्ता शेयर बापत कुनै लाभांश रोक्का भएको रहेछ भने सो बराबरको रकम फिर्ता गर्न वा सो रकमले खामेसम्मको शेयर दिन सक्नेछ र रकम
फिर्ता गर्ने भएमा शेयर जफत भएको तीन महिनाभित्र रकम फिर्ता गरिसक्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम तीन महिनाभित्र रकम फिर्ता नगरेमा सो अवधि नाघेपछि सो
रकममा लाग्ने व्याजसमेत दिनु पर्नेछ ।
(६) उपदफा (३) बमोजिम जफत गरिएको शेयर नियमावलीको अधीनमा रही सञ्चालक
समितिले मनासिब ठहराएको किसिमबाट बिक्री गर्न वा खारेज गर्न सक्नेछ ।
(७) लगातार तीन वर्ष वा सोभन्दा बढी मुनाफामा सञ्चालन भएको कम्पनीले साधारण
सभामा विशेष प्रस्ताव पारित गरी भुक्तानी माग नभएको आफ्नोशेयर पुँजीको केही अंश कम्पनी
खारेज हुँदा वा दामासाहीमा गएको अवस्थामा बाहेक भुक्तानी माग गर्न नपाउने गरी निर्धारण गर्न
सक्नेछ ।
(८) उपदफा (६) बमोजिम विशेष प्रस्ताव पारित भएपछि सो प्रस्तावमा उल्लेख भए
अनुसारको भुक्तानी माग गर्न बाँकी शेयर पुँजीको रकम साधारण सभाबाट पुन अर्को विशेष
प्रस्ताव पारित गरी माग गर्ने निर्णय भएकोमा बाहेक कम्पनी खारेज हुँदा वा दामासाहीमा गएको
अवस्थामा बाहेक माग गर्न सकिने छैन ।