दफा ४२
शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने
: (१) यस ऐन, प्रबन्धपत्र र
नियमावलीका अधीनमा रही कम्पनीको शेयर वा डिबेञ्चर चल सम्पत्तिसरह बिक्री गर्न वा
धितोबन्धक राख्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य कुनै कम्पनीबाट ऋण
नलिएको प्राइभेट कम्पनी बाहेक अन्य कम्पनीको संस्थापकले कम्पनीको प्रथम साधारण सभा
नभएसम्म र निजको नाममा जारी भएको शेयरको माग रकम पुरा चुक्ता नगरेसम्म आफू ले
लिएको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन ।
(३) उपदफा (१) बमोजिम शेयर वा डिबेञ्चर धितोबन्धक दिएकोमा सो व्यहोरा दर्ता
किताबमा जनाउनको निमित्त धितोबन्धक लिनेले तोकिए बमोजिमको ढाँचामा तोकिएको दस्तुर
सहित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसरी दिइने निवेदनसाथ निवेदकले
धितोबन्धकसँग सम्बन्धित लिखत र शेयर वा डिबेञ्चरको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन परेमा कम्पनीले त्यसरी शेयर वा डिबेञ्चर
धितोबन्धक दिए लिएको व्यहोरा दर्ता किताबमा जनाउनु पर्नेछ र त्यसरी धितोबन्धक राखेको
शेयर वा डिबेञ्चर निखनेको जनाउ पाएपछि त्यस्तो धितो बन्धकीको लगत दर्ता किताबबाट कट्टा
गर्नु पर्नेछ ।