दफा ६८
श्रम सहचारीको नियुक्ति
: (१) नेपाल सरकारले वैदेशिक रोजगारमा पाँच हजार वा सोभन्दा बढी कामदार पठाइएका मुलुकमा कम्तीमा राजपत्राङ्कित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्नेछ ।
(२) श्रम सहचारीको काम, कर्तव्य रअधिकार देहाय बमोजिम हुनेछ :
(क) नेपाली कामदार रहेका मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमन सम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम तथा अन्तर्राष्ट्रिय मानव अधिकार तथा कामदारको हित संरक्षणार्थ चालेका कदम बारे नेपाल सरकारलाई जानकारी गराउने,
(ख) कामदार, रोजगारदाता संस्था वा इजाजतपत्रवालाबीच कुनै विवाद उत्पन्न भएमा समस्या समाधान गर्न सहयोग गर्ने,
(ग) वैदेशिक रोजगारको क्रममा अलपत्र अवस्थामा परेका कामदारलाई स्वदेश फिर्ता गर्न गराउन आवश्यक व्यवस्था गर्ने,
(घ) सम्बन्धित देशमा नेपाली कामदारको सीप अनुसारको काम उपलब्ध हुने भएमा सो सम्बन्धी जानकारी नेपाल सरकारलाई उपलब्ध गराउने,
(ङ) प्राकृतिक विपत्तिमा परेका वा कुनै कारणवश मृत्यु भएका कामदारको मृत शरीर सम्बन्धित मुलुक वा रोजगारदाता संस्थाको सहयोगमा स्वदेश फिर्ता पठाउन पहल गर्ने,
(च) नेपालबाट कामदार आपूर्ति गर्नका लागि सरकारी स्तरमा द्विपक्षीय सम्झौता गर्न प्रयास गर्ने,
(छ) कामदारलाई आवश्यक परामर्श प्रदान गर्ने र निजलाई सम्झौतामा उल्लिखित कार्य बाहेक अन्य कार्य गर्न निरुत्साहित गर्ने,
(ज) कामदारको लागि असर पार्न सक्ने क्रियाकलापको सुपरिवेक्षण गर्ने, र
(झ) नेपाल सरकारले समय–समयमा तोकेको अन्य कार्य गर्ने ।
(३) कुनै विदेशी मुलुकमा कुटनैतिक नियोग र श्रम सहचारी दुवै भएमा उपनियम (१) मा उल्लिखित काम र कर्तव्य पूरा गर्नु पर्ने दायित्व श्रम सहचारीमा निहित रहनेछ ।