नियम
सङ्घीय सञ्चित कोषको सञ्चालन
(१) सङ्घीय सञ्चित कोष सञ्चालन गर्न महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिमका खाताहरू रहनेछन्‌।
(२) उपनियम (१) बमोजिमको खाता महालेखा नियन्त्रक कार्यालयले नेपाल राष्ट्र बैङ्कको सहमतिमा तोके बमोजिम सो बैङ्क वा “क' वर्गको कुनै बैङ्कमा खोलिनेछ।
(३) उपनियम (१) बमोजिमको खाताको सञ्चालन महालेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकिदिए बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ।
(४) उपनियम (१) बमोजिमको खातामा आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको रकमको व्यवस्थापन महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ।
(५) सङ्घीय सञ्चित कोषको लेखा नगदमा आधारित, दोहोरो लेखा प्रणालीको सिद्धान्त र नेपाल सरकारबाट स्वीकृत लेखामान बमोजिम राखिनेछ ।
(६) सङ्घीय सञ्चित कोषको हिसाब मिलान गर्ने सिलसिलामा सम्बन्धित खातामा आर्थिक वर्षको अन्त्यमा रहेको मौज्दात रकम सङ्घीय सञ्चित कोष मिलान खातामा स्थानान्तरण (ट्रान्सफर) गरी लेखाङ्कन गर्न सकिनेछ ।
(७) सङ्घीय कानून बमोजिम स्थापना हुने विभाज्य कोषको खाता सञ्चालन सम्बन्धी व्यवस्था र प्रक्रिया महालेखा नियन्त्रक कार्यालयले तोके बमोजिम हुनेछ।