दफा १२
सजाय पूर्वको प्रतिवेदन तयार गर्न आदेश दिनु पर्ने
(१) तीन वर्षभन्दा बढी कैद वा तीस हजार रुपैयाँभन्दा बढी जरिबाना हुन सक्ने कसूरका सम्बन्धमा सजाय निर्धारण गर्नुअघि अदालतले आवश्यक ठानेमा कसूरदारको सम्बन्धमा सजाय पूर्वको प्रतिवेदन तयार गर्न प्रोवेशन अधिकृत वा प्यारोल अधिकृतलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश प्राप्त भएपछि प्रोवेशन अधिकृत वा प्यारोल अधिकृतले कसूरदारका सम्बन्धमा देहायका कुराहरु उल्लेख गरी प्रतिवेदन तयार गर्नु पर्नेछः–
(क) कसूरदारको व्यक्तिगत, सामाजिक र सा“स्कृतिक पृष्ठभूमि,
(ख) कसूर गर्दाको परिस्थिति,
(ग) कसूर गर्नु अघिको कसूरदारको चालचलन,
(घ) कसूरदारको उमेर,
(ङ) प्रोवेशन अधिकृत वा प्यारोल अधिकृतले आवश्यक ठानेका अन्य कुराहरु ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन तयार भएपछि प्रोवेशन अधिकृत वा प्यारोल अधिकृतले त्यस्तो प्रतिवेदन अदालत समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि अदालतले त्यस्तो प्रतिवेदन सम्बन्धित सरकारी वकिल, कसूरदार र निजको कानून व्यवसायीलाई तथा कसूरदार बालबालिका भए निजको संरक्षकलाई उपलब्ध गराउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको प्रतिवेदन प्राप्त गरेपछि त्यस्तो सरकारी वकिल, कसूरदार, संरक्षक वा कानून व्यवसायीले त्यस सम्बन्धमा आफ्नो राय अदालत समक्ष पेश गर्न सक्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रोवेशन अधिकृत वा प्यारोल अधिकृत तोकिएको वा नियुक्त नभएको अवस्थामा अदालतले वादी र प्रतिवादीको कानून व्यवसायीलाई उपदफा (१) बमोजिमको प्रतिवेदन तयार गर्ने आदेश दिनु पर्नेछ ।
(७) उपदफा (६) बमोजिमको आदेश प्राप्त भएपछि त्यस्तो कानून व्यवसायीले त्यस्तो प्रतिवेदन तयार गरी अदालत समक्ष पेश गर्नु पर्नेछ ।