दफा २६
सजाय
(१) कसैले देहाय बमोजिमको कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति वा संस्थालाई श्रम तथा रोजगार कार्यालयले कसूरको मात्रा हेरी देहाय बमोजिमको सजाय गर्नेछः–
(क)  दफा २५ को खण्ड (क) बमोजिमको कसूर गर्नेलाई पच्चीस हजार रुपैयाँ जरिबाना,
(ख)  दफा २५ को खण्ड (ख) र (ग) बमोजिमको कसूर गर्नेलाई दश हजार रुपैयाँ जरिबाना,
(ग)  दफा २५ को खण्ड (घ) बमोजिमको कसूर गर्नेलाई त्यस्तो बेरोजगार सहायता वा निर्वाह भत्ता प्राप्त गरेको भए सो रकम असूल उपर गरी सोही बराबरको रकम जरिबाना,
(घ)  दफा २५ को खण्ड (ङ) बमोजिमको कसूर गर्नेलाई बेरोजगार सहायता बापत प्राप्त गरेको रकम असूल उपर गरी सोही बराबरको रकम जरिबाना।
(२) उपदफा (१) बमोजिम गरिएको जरिबाना तोकिएको अवधिभित्र नतिर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउन सम्बन्धित श्रम तथा रोजगार कार्यालयले लेखी पठाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको जरिबाना सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको कार्य अन्य प्रचलित कानून बमोजिम समेत कसूर मानिने रहेछ भने त्यस्तो कसूरमा सो कानून बमोजिम छुट्टै मुद्दा चलाई सजाय गर्न यस दफाको व्यवस्थाले बाधा पर्ने छैन र कसैले यस ऐन विपरीत कुनै कार्य गरे बापत निजलाई प्रचलित कानून बमोजिम यस दफामा लेखिएभन्दा बढि सजाय हुने रहेछ भने सोही बमोजिमको सजाय हुनेछ।