नियम ८
सतर्क गराउने तथा कारबाहीको लागि लेखी पठाउने
(१) नियम ७ बमोजिम अनुगमन गर्दा कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा कुनै किसिमको अनियमित हुन लागेकोे वा नियमित रुपमा काम नभएको पाइएमा केन्द्रले त्यस्तो सरकारी कार्यालय वा सार्वजनिक संस्थाको प्रमुख र त्यस्तो काममा प्रत्यक्ष संलग्न कर्मचारीलार्ई सो विषयमा लिखित रुपमा सतर्क गराउन सक्नेछ ।
(२) नियम ७ बमोजिम अनुगमन गर्दा कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थालाई दिइएको सुझाव कार्यान्वयन नगरेको वा कुनै अनियमितता भएको पाइएमा वा केन्द्रले दिएको सुझाव वा निर्देशन कार्यान्वयन नभएमा त्यस्तो कार्यालय वा संस्थाको प्रमुख वा सम्बन्धित कर्मचारी उपर प्रचलित कानून बमोजिम कारबाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम सतर्क गराउँदा पनि त्यस्तो सरकारी कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुने काममा सम्बन्धित प्रमुख वा कर्मचारीले कुनै सुधार नगरेमा वा निजलाई सतर्क गराइएको विषय पालना नगरेमा केन्द्रले त्यस्तो प्रमुख वा कर्मचारीको अभिलेख राखी निज उपर आवश्यक विभागीय कारबाहीको लागि अख्तियारवाला समक्ष र प्रचलित कानून बमोजिमको अन्य कारबाही गर्नु पर्ने भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष लेखी पठाउनु पर्नेछ ।