दफा २१
सम्भाव्यता अवधिपछि परित्याग
कुनै स्थलको सम्भाव्यता कार्य पूरा भएको मितिले बाह्र (१२) महीनाभित्र ठेकेदारले त्यस्तो स्थलको उत्पादन अनुमतिको लागि आवेदन नगर्ने निधो गरेमा र त्यस्तो स्थलसहितको क्षेत्र परित्याग नगरेको भएमा र ठेकेदारले उत्पादन अनुमतिको लागि आवेदन नगर्नुको कारण, (१) स्थललाई व्यापारिक बनाउन अर्को स्थलसमेतको विकास संयुक्त रूपमा गर्न आवश्यक पर्न गएमा वा, (२) करार क्षेत्रमा पत्ता लागेको स्थलको पेट्रोलियमको निर्यात बजार निश्चित गर्न (नेपालको सीमाना र नेपाल बाहिरको खरिदकर्तालाई डेलिभरि दिने एफ.ओ.बी. केन्द्रको बीचमा आवश्यक बन्दोबस्त तथा पूर्वाधारहरूको व्यवस्था गर्न समेत) ढिलाई भएकोमा बाहेक त्यस्तो क्षेत्र परित्याग गर्न नेपाल सरकारले ठेकेदारलाई आदेश दिन सक्नेछ । त्यस्तो आदेश प्राप्त भएको तीस (३०) दिनभित्र ठेकेदारले स्थलसहितको क्षेत्र परित्याग गर्नु पर्नेछ । त्यसरी परित्याग गरेको क्षेत्र दफा ९ अनुरूपको हुनु पर्नेछ र दफा ६ मा तोकिए बमोजिमको अनिवार्य परित्यागमा समावेश गरिनेछ ।