दफा २४ग
साझेदारी वनको वन पैदावार उपयोग तथा बिक्री वितरण
: (१) साझेदारी वनबाट उत्पादित काठ दाउराको हकमा सबै गुणस्तर (ग्रेडिङ) को आधारमा चालीस प्रतिशत नेपाल सरकारको, दश प्रतिशत स्थानीय तहको र पचास प्रतिशत साझेदारी वन उपभोक्ता समूहको हुनेछ र गैह्रकाष्ठ वन पैदावरको हकमा तोकिए बमोजिम बाँडफाँट हुनेछ ।
(२) साझेदारी वन उपभोक्ता समूहले साझेदारी वन व्यवस्थापन कार्ययोजनाको कार्यान्वयनबाट प्राप्त हुने वन पैदावर आन्तरिक खपतको लागि प्राथमिकता दिई बाँकी रहेको वन पैदावर मात्र समूह बाहिर पठाउने गरी छुट्याउन सक्नेछ ।
(३) साझेदारी वनबाट साझेदारी वन उपभोक्ता समूहलाई प्राप्त हुने वन पैदावर बिक्री वितरणबाट प्राप्त रकम मध्ये साझेदारी वन उपभोक्ता समूहले बढीमा दश प्रतिशत प्रशासनिक कार्यमा, चालीस प्रतिशत कार्ययोजनाले निर्दिष्ट गरेको वन व्यवस्थापन कार्यमा र बाँकी पचास प्रतिशत तोकिए बमोजिम गरिबी निवारण, सामुदायिक विकास र स्थानीय तहको विकासमा खर्च गर्न सक्नेछ ।