दफा ७त
सूचक संस्थाको दायित्व
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशनको कार्यान्वयनको लागि सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, कार्यक्षेत्र, व्यवसायको आकार, ग्राहक, कारोबार तथा जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू  गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको नीति तथा कार्यविधिमा देहायका विषयहरु समावेश गर्नु पर्नेछः– (क) ग्राहकको पहिचान, व्यावसायिक सम्बन्ध, अनुगमन, कारोबारको सूचना, अभिलेख लगायतका अन्य दायित्वका सम्बन्धमा आन्तरिक नीति, प्रकृया तथा नियन्त्रण सम्बन्धी व्यवस्था, (ख) निरन्तर अनुगमन सम्बन्धी व्यवस्था, (ग) यो ऐन वा यस ऐन अन्र्तगत बनेको नियम वा जारी भएको निर्देशिका वा निर्देशनको पालना गर्ने वा गराउने व्यवस्था, (घ) उच्च मर्यादा भएका कर्मचारी कायम गर्न कर्मचारी भर्ना लगायतका विषयमा कार्यविधिको पर्याप्त व्यवस्था, (ङ) कर्मचारीलाई नियमित रुपमा तालीम तथा पुनर्ताजगी सम्बन्धी व्यवस्था, (च) काम कारबाहीको स्वतन्त्र रुपमा अनुगमन, निरीक्षण, लेखापरीक्षण गरी अभिलेख अद्यावधिक गर्ने प्रभावकारी व्यवस्था, (छ) शंकास्पद कारोबारको पहिचान तथा जानकारी सम्बन्धी व्यवस्था, (ज) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व पूरा गर्न र सोको प्रभावकारिता मूल्यांकन गर्न आवश्यक हुने अन्य व्यवस्था, र (झ) नियमनकारी निकायले तोकिदिएका अन्य व्यवस्था । (३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व निरन्तर रुपमा पूरा गर्न सूचक संस्थाले व्यवस्थापन स्तरको कार्यान्वयन अधिकारी (कम्प्लायन्स अफिसर) नियुक्त गर्नु पर्नेछ । (४) सूचक संस्थाले उपदफा (३) बमोजिमको कार्यान्वयन अधिकारीलाई देहायको काम, कर्तव्य र अधिकार तथा सोका लागि आवश्यक साधन स्रोत उपलब्ध हुने सुनिश्चित गर्नु पर्नेछः– (क) आफ्नो कार्य सम्पादनको सिलसिलामा आवश्यक कुनै पनि अभिलेख, हिसाब किताब र लेखा सम्बन्धी कागजातहरु उपर पहुच प्राप्त गर्ने, (ख) सूचक संस्थाको सम्बन्धित कर्मचारीसग कुनै सूचना, जानकारी, विवरण वा कागजात माग गर्ने र प्राप्त गर्ने, (ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा जारी गरिएको निर्देशिका वा निर्देशनको कार्यान्वयन गर्न आवश्यक अन्य कार्य गर्ने, र (घ) नियमनकारी निकायले तोकेको अन्य कार्य गर्ने ।