दफा
सूचनामा उल्लिखित नामको पर्याप्तता
(१) सूचनामा देहायका कुराहरु उल्लेख भएमा धितो दिने व्यक्तिको नाम सो सूचनामा पर्याप्तरुपमा खुलाएको मानिनेछः– (क) धितो दिने व्यक्ति प्राकृतिक व्यक्ति भए निजले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित नागरिकता नम्बर त्यस्तो सूचनामा उल्लेख गरिएको भए, (ख) धितो दिने व्यक्ति गैर–नेपाली नागरिक भए निजले प्राप्त गरेको राहदानीमा उल्लिखित नाम र सो राहदानी जारी गर्ने देशको नाम तथा नम्बर त्यस्तो सूचनामा उल्लेख गरिएको भए, (ग) धितो दिने व्यक्ति प्रचलित कानूनबमोजिम स्थापना भएको सङ्गठित संस्था भए प्रचलित कानूनबमोजिम स्थापना भई मान्यता प्राप्त गरेको नाम र दर्ता प्रमाणपत्र नम्बर त्यस्तो सूचनामा उल्लेख गरिएको भए, (घ) धितो दिने व्यक्ति प्रचलित कानूनबमोजिम नेपाल राज्यभित्र व्यवसाय सञ्चालन गर्न मान्यताप्राप्त विदेशी सङ्गठित संस्था भए त्यस्तो संस्थाले नेपाल राज्यभित्र कारोबार सञ्चालन गर्न प्रचलित कानूनबमोजिम मान्यता प्राप्त गरेको नाम त्यस्तो सूचनामा उल्लेख गरिएको भए, र (ङ) धितो दिने व्यक्ति प्रचलित कम्पनी कानूनअन्तर्गत दर्ता नभएको तर प्रचलित कम्पनी कानूनबमोजिम नेपाल राज्यभित्र व्यवसाय सञ्चालन गर्न पाउने विदेशी सङ्गठित संस्था भए त्यस्तो सङ्गठित संस्था संस्थापना भएको देशको प्रचलित कानूनबमोजिम मान्यताप्राप्त नाम त्यस्तो सूचनामा उल्लेख गरिएको भए । (२) सूचनामा धितो दिने व्यक्तिको नाम पर्याप्तरुपमा खुलाइएको अवस्थामा त्यस्तो सूचनामा धितो दिने व्यक्तिको व्यापारिक नाम वा अन्य कुनै नाम उल्लेख नभएको कारणले मात्र त्यस्तो सूचना प्रभावकारी नभएको मानिने छैन । तर सूचनामा धितो दिने व्यक्तिको व्यापारिक नाम मात्र उल्लेख भएको अवस्थामा त्यस्तो सूचनामा धितो दिने व्यक्तिको नाम पर्याप्तरुपमा उल्लेख गरेको मानिने छैन । (३) सूचनामा एकभन्दा बढी धितो दिने व्यक्तिको नाम र एकभन्दा बढी धितो लिने व्यक्तिको नाम उल्लेख गर्न सकिनेछ । (४) सूचनामा कुनै व्यक्ति धितो लिने व्यक्तिको प्रतिनिधि हो भन्ने कुरा खुलाउन नसकेको कुराले मात्र सो सूचनाको पर्याप्ततामा कुनै असर पार्ने छैन ।