नियम १५
सूचीबाट नाम हटाउने
(१) यस नियमावली बमोजिम सूचीकृत भएका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड पूरा नगरेमा वा ऐन तथा यस नियमावली विपरीत हुने कुनै कार्य गरे गराएमा वा कार्य गर्नको लागि दुरुत्साहन गरेमा सूचीकृत गर्ने निकायले त्यस्तो स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको नाम सूचीबाट हटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचीबाट नाम हटाउनु अघि सम्बन्धित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सूचीबाट नाम हटाउने गरी गरेको निर्णयमा चित्त नबुझ्ने स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले त्यस्तो निर्णयको जानकारी प्राप्त भएको मितिले पैंतीस दिनभित्र देहायको अधिकारी समक्ष निवेदन दिन सक्नेछ र सो सम्बन्धमा त्यस्तो अधिकारीले दिएको निर्णय अन्तिम हुनेछः-
(क) मन्त्रालयले तोकेको निकायमा सूचीकृत भएको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले मन्त्रालयको सचिव समक्ष,
(ख) प्रदेश मन्त्रालयले तोकेको निकायमा सूचीकृत भएको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्रदेश मन्त्रालयको सचिव समक्ष,
(ग) स्थानीय तहमा सूचीकृत भएको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्थानीय कार्यपालिका समक्ष।