दफा २२
सेवा सञ्चालन गर्नु पर्ने
(१) संस्थाले यस ऐन, यस ऐन अन्तर्गत बनेको विनियम, बैङ्कले जारी गरेको निर्देशन तथा अनुमतिपत्रमा तोकिएका शर्त तथा अन्य प्रचलित कानूनले तोकेको मापदण्ड बमोजिम भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्नु पर्नेछ।
(२) संस्थाले बैङ्कले स्वीकृत गरेको वा जारी गरेको भुक्तानी, समाशोधन, फर्स्यौट र हिसाब मिलान प्रक्रिया सम्बन्धी कार्यविधिको पूर्ण पालना गर्नु पर्नेछ।
(३) संस्थाले अनुमतिपत्रमा तोकिएको अवधिभित्र अनुमतिपत्रमा उल्लेख भए बमोजिम भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायक सम्बन्धी काम शुरु गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र काम शुरु नगर्ने संस्थाको अनुमतिपत्र बैङ्कले तोकिए बमोजिम खारेज गर्न सक्नेछ।