अनुसूची
सैनिक हवाई सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनको लागि आवश्यक पर्ने योग्यता

(नियम ६ सँग सम्बन्धित)

१. सैनिक हवाई सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनको लागि आवश्यक पर्ने योग्यता देहाय बमोजिम रहेको छ –
(क) नेपाली नागरिक,
(ख) उपसेनानी पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा उनन्तीस वर्ष र महिलाको हकमा तीस वर्ष ननाघेको र जमदार तथा अमल्दार पदको लागिअठार वर्ष उमेर पूरा भई पुरुषको हकमा पच्चीस वर्ष ननाघेको,
तर,
(१) नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिकले पैंतीस वर्ष उमेर पूरा नभएसम्म बढीमा तीन पटक आवेदन दिन सक्नेछ ।
(२) अधिकृत क्याडेट, सहायक सेनानी र उपसेनानी मध्येबाट छनौट गरी पाइलट तालिममा पठाउनु पर्ने भएमा चौबीस वर्ष ननाघेको हुनु पर्नेछ ।
(ग) पुरुषको हकमा कम्तीमा उचाई ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च, वजन ५० के.जी. (११० पौण्ड) महिलाको हकमा कम्तीमा उचाई ५ फिट, वजन ४० के.जी. (८८ पौण्ड) हुनुपर्ने,
तर पाइलट समूहको महिलाको हकमा कम्तीमा ५ फिट ३ इन्च उचाई हुनु पर्नेछ ।
(घ) बि.एम.आई. र स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको,
(ङ) आँखा + २ भन्दा बढी कमजोर नभएको,
(च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(छ) तत्काल कुनै पनि राजनैतिक दलको सदस्य नभएको वा नरहेको,
(ज) कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(झ) कुनै विध्वंसात्मक उद्देश्य भएको संघ संस्थाको सदस्य नभएको वा नरहेको,
(ञ) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(ट) मानव अधिकार र मानवीय कानूनको उल्लङ्घन बापत सजाय नपाएको,
(ठ) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको ।

२. सैनिक हवाई सेवाको आन्तरिक प्रतियोगिताद्वारा बढुवा हुने पदमा देहाय बमोजिमको थप योग्यता समेत पूरा गरेको हुनु पर्नेछ ः-
(क) बि.एम.आई. मा योग्य र स्वास्थ्य वर्गीकरण एमइडिडिआइसिसिओएस–जी दुई वा सो भन्दा कम भएको,
(ख) शारिरीक तन्दुरुस्ती परीक्षा (बि.एफ.टि.) उत्तीर्ण गरेको,
(ग) युनिटपतिको सिफारिस भएको ।