नियम
१ समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
२.३.१.१ हवाई सुरक्षा सम्बन्धी राष्ट्रिय नीति निर्धारण गर्ने,
२.३.१.२ हवाई सुरक्षा सम्बन्धी राष्ट्रिय नीति अनुरूप उपयुक्त योजना तर्जुमा गरी कार्यान्वयन गराउने,
२.३.१.३ विमानस्थलहरूमा हवाई सुरक्षाका लागि अपनाउनु पर्ने विभिन्न प्रक्रियाहरू निर्धारण गर्न हवाई सुरक्षा सम्बन्धी दिग्दर्शन तयार गरी लागू गराउने,
२.३.१.४ विमानस्थलहरूमा वायुयानद्वारा आवागमन गर्ने यात्रु तथा ओसार पसार हुने मालसामान जाँच गर्ने प्रक्रिया निश्चित गरी लागू गराउने,
२.३.१.५ वायुयान चालक तथा क्रू सदस्यहरूलाई जाँच गर्ने प्रक्रिया निश्चित गरी लागू गराउने,
२.३.१.६ विमानस्थल वरिपरि तथा आसपासमा सुरक्षाको दृष्टिकोणले सार्वजनिक आवागमनलाई रोक्न निषेधित क्षेत्र तोक्ने,
२.३.१.७ हवाई सुरक्षा सम्बन्धी राष्ट्रिय नीति, योजना तथा कार्यक्रमको समसामयिक मूल्याङ्कन गरी यसलाई अझ बढी प्रभावकारी बनाउने,
२.३.१.८ हवाई सुरक्षा सम्बन्धी दिग्दर्शनमा व्यवस्थित विमानस्थल सुरक्षाका लागि आवश्यक विभिन्न मापदण्ड बमोजिम नयाँ निर्माण हुने विमानस्थलहरू निर्माण भए नभएको र भैरहेका विमानस्थलहरूमा सो बमोजिम थप सेवा सुविधाहरूको विस्तार भए नभएको जाँचबुझ गरी आवश्यक थप सेवा सुविधाहरूको व्यवस्था गर्न लगाउने,
२.३.१.९ प्राधिकरणका कर्मचारीहरूको अतिरिक्त हवाई सुरक्षासंग नियमित तथा आकस्मिक रूपमा सम्बन्धित हुने विभिन्न इकाई वा कर्मचारीहरूको लागि हवाई सुरक्षा सम्बन्धी गोष्ठी, सम्मेलन, तालीम, सुरक्षा अभ्यास (सिमुलेशन) आदिको समुचित व्यवस्था गर्न लगाउने,
२.३.१.१० विमानस्थल हवाई सुरक्षा समितिहरूले हवाई सुरक्षा सम्बन्धी दिग्दर्शन बमोजिम कार्य गरे नगरेको कुराको नियमित रूपमा निरीक्षण गर्न लगाई प्रतिवेदन पेश गर्न लगाउने,
२.३.१.११ हवाई सुरक्षा सम्बन्धी कार्यसंग सम्बन्धित प्रत्येक इकाईको जिम्मेवारीलाई समन्वयात्मक ढंगबाट पूरा गर्न लगाउने,
२.३.१.१२ हवाई सुरक्षा सम्बन्धमा नेपाल सरकारबाट भएका निर्देशनहरूको पालना गर्ने तथा त्यस्ता निर्देशनहरू कार्यान्वयन गर्न लगाउने,
२.३.१.१३ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट पारित तथा आव्हान भए अनुसारको सुरक्षाका उपाय तथा विधिहरूको पालना गर्ने गराउने,
२.३.१.१४ नागरिक उड्डयन क्षेत्रमा घटेका घटनाहरू सम्बन्धी प्रतिवेदन तयार पार्न लगाई सो को सूचना आवश्यकता अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई उपलब्ध गराउन उचित व्यवस्था मिलाउने,
२.३.१.१५ नागरिक उड्डयन सुरक्षा सम्बन्धी अन्य आवश्यक कुराहरूको व्यवस्था गराउने ।