You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
(क) “बालबालिका” भन्नाले अठार वर्ष उमेर पूरा नगरेको व्यक्ति सम्झनु पर्छ।
(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ ।
(ग) “सम्पर्क विन्दु” भन्नाले दफा ६ बमोजिम सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले स्थापना गरेको कार्यालय वा तोकेको व्यक्ति सम्झनु पर्छ।
(घ) “सम्बद्ध निकाय” भन्नाले देहायका निकाय वा कार्यालय सम्झनु पर्छः-
(१) सूचना तथा प्रसारण विभाग,
(२) विज्ञापन बोर्ड,
(३) प्रेस काउन्सिल,
(४) नेपाल दूरसञ्चार प्राधिकरण ।
(ङ) “सामाजिक सञ्जाल” भन्नाले सामाजिक सञ्जाल प्लेटफर्मले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमबाट उपलब्ध गराएको सुविधा र विधि अनुरुप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप लगायतका सञ्जाल सम्झनु पर्छ।
(च) “सामाजिक सञ्जालको प्रयोग” भन्नाले व्यक्ति, समूह वा संस्थागत पहिचान: हुने गरी कुनै अक्षर, चित्र, आवाज, सङ्रेत र दृश्यलाई सार्वजनिक रुपमा प्रयोगमा आएको सामाजिक सञ्जालमा पोस्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रिपोस्ट, ट्याग वा मेन्सन गर्ने लगायतका कार्य सम्झनु पर्छ।
(छ) “सामाजिक सञ्जाल प्लेटफर्म” भन्नाले कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग विचार वा सूचनाको आदानप्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने, सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित फेसबुक, टिकटक, ट्वीटर, भाइबर, पिन्टरेस्ट, ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, लिन्क्डइन, बिच्याट लगायतका सार्वजनिक रूपमा उपलब्ध हुने गरी सञ्चालनमा ल्याइएका प्रणाली सम्झनु पर्छ।
(ज) “सामाजिक सञ्जाल व्यवस्थापन इकाइ” भन्नाले दफा १३ बमोजिमको सामाजिक सञ्जाल व्यवस्थापन इकाइ सम्झनु पर्छ।