Section 2
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा ऐनमा,– (क) “कोष” भन्नाले दफा ३ अन्तर्गत स्थापना गरिएको कर्मचारी सञ्चयकोष सम्झनुपर्छ । (ख) “कर्मचारी” भन्नाले मासिक तलबबाट कोष कट्टी गराउनुपर्ने रकम कट्टा गराई कोषमा दाखिला गराउने निजामती कर्मचारी, सैनिक, प्रहरी, सशस्त्र प्रहरी, संवैधानिक अङ्ग, …………….. र कोषका कर्मचारी तथा शिक्षक सम्झनुपर्छ र प्रदेशको सरकारी सेवा, स्थानीय सेवाका कर्मचारी वादफा १२ख. बमोजिम कोषमा रकम जम्मा गराउने संस्थाका कर्मचारी, मजदूर वा कामदार तथा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अन्य वर्गको कर्मचारी समेतलाई जनाउनेछ । स्पष्टीकरणः यस ऐनको प्रयोजनको निमित्त कर्मचारी भन्नाले स्थायी कर्मचारी सम्झनु पर्छ । (ख१) “स्वरोजगारमा संलग्न व्यक्ति” भन्नाले निजी रुपमा सञ्चालित व्यवसाय वा रोजगारीबाट आय आर्जन गर्ने इन्जिनियर, चिकित्सक, कानून व्यवसायी, लेखापरीक्षक लगायतका पेशा व्यवसाय गर्ने व्यक्ति वा निजसँग सम्बद्ध कर्मचारी सम्झनु पर्छ र सो शब्दले वैदेशिक रोजगारमा संलग्न व्यक्ति, अस्थायी वा सेवा करारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक, असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, चिया बगानका श्रमिक तथा सहकारी संघ संस्थामा कार्यरत कर्मचारी समेतलाई जनाउँछ । (ग) “समिति” भन्नाले दफा ४ अन्तर्गत गठन गरिएको कर्मचारी सञ्चयकोष सन्चालक समिति सम्झनुपर्छ । (ग१) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ । (ग२) “संचालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा प्रशासक समेतलाई जनाउनेछ । (ग३) “प्रशासक” भन्नाले दफा ६क. बमोजिम नियुक्त कोषको प्रशासक सम्झनु पर्छ । (घ) “ऋणपत्र” भन्नाले राष्ट्र ऋण ऐन, २०५९ अन्तर्गत नेपाल सरकारले निष्काशन गरेको ऋण सम्झनु पर्छ र यो शब्दले विदेशी सरकरको ऋणपत्र समेतलाई जनाउँछ । (ङ) ……………… (च) ………………. (छ) ………………. (ज) ………………. (झ) ………………… (ञ) “डिवेन्चर” भन्नाले कम्पनीले आफ्नो जायजेथा धितो वा जमानत राखी लिएको ऋणको तमसुक सम्झनु पर्छ । (ट) ……………… (ठ) …………….. (ड) “तलब” भन्नाले सेवाको शर्त बमोजिम कर्मचारीले सेवा प्रदान गरे बापत पदाधिकार रहेको पदको प्रचलित स्केल बमोजिम पाउने तलबलाई मात्र सम्झनु पर्छ । (ढ) “कार्यालय” भन्नाले कर्मचारीको तलबबाट कोष रकम कट्टी गरी कोषले तोकेको खातामा जम्मा गर्ने दायित्व भएको कार्यालय वा संस्था सम्झनु पर्छ । (ढ१) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम संस्थाको रूपमा स्थापना भएको बैंक, वित्तिय संस्था, कम्पनी, फर्म उद्योग वा त्यस्तै अन्य सरकारी वा गैर सरकारी संस्था सम्झनु पर्छ र सो शब्दले नेपालस्थित कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई समेत जनाउँछ । (ण) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ । (त) “कोषले तोकेको” भन्नाले यस ऐन अन्तर्गत कोषले बनाएको विनियम वा कोषको सूचनामा तोकेको सम्झनुपर्छ ।