Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “रचना” भन्नाले साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रुपले प्रस्तुत गरिएका रचना सम्झनु पर्छ र सो शब्दले देहायका रचना समेतलाई जनाउछः–
(१) किताब, पर्चा, लेख, शोधपत्र,
(२) नाटक, नाट्य–संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना,
(३) शब्द सहित वा शब्द रहित सांगीतिक रचना
४) श्रव्य दृश्य रचना,
(५) आर्किटेक्चरल डिजाइन,
(६) चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना,
(७) फोटोजन्य रचना,
(८) प्रयोगात्मक कला सम्बन्धी रचना,
(९) उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना,
(१०) कम्प्युटर प्रोग्राम ।
(ख) “रचयिता” भन्नाले खण्ड (क) मा उल्लिखित रचना तयार गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ग) “श्रव्यदृश्य रचना” भन्नाले ध्वनि सहित वा ध्वनि रहित रुपमा पर्दामा अवलोकन गर्न सकिने चलचित्रमय रचना सम्झनु पर्छ ।
(घ) “फोटोजन्य रचना” भन्नाले कुनै पनि वस्तुको धरातलमा चित्राकृति आउने गरी वा त्यस्तो धरातलबाट चित्राकृति पैदा गर्न सकिने गरी रासायनिक, विद्युतीय वा अन्य कुनै प्रविधिको सहायताबाट त्यस्तो धरातलमा प्रकाश वा अन्य विकिरणको अङ्कन गरी तयार गरिएको रचना सम्झनु पर्छ ।
तर कुनै श्रव्यदृश्य रचनाबाट झिकिएको स्थिर फोटोलाई भने फोटोजन्य रचना नमानी सम्बन्धित श्रव्यदृश्य रचनाकै एक भाग मानिनेछ ।
(ङ) “ध्वनिअङ्कन” भन्नाले ध्वनि र आकृतिको एकैसाथ अङ्कन गर्ने कार्य बाहेकको श्रवण गर्नको लागि जुनसुकै तरिकाबाट जुनसुकै माध्यममा अङ्कन गरिएको कुनै पनि प्रस्तुतिको ध्वनिअङ्कन गर्ने कार्य सम्झनु पर्छ ।
(च) “प्रस्तुति” भन्नाले,–
(१) श्रव्यदृश्य रचना बाहेक अरु प्रकारको रचनाको हकमा प्रत्यक्ष रुपमा वा अन्य कुनै उपकरण वा प्रक्रियाबाट वाचन, वादन, नृत्य, अभिनय वा अन्य प्रकारले
प्रस्तुत गर्ने कार्य,
(२) श्रव्यदृश्य रचनाको हकमा त्यस्तो रचनामा समायोजित दृश्यलाई सिलसिलाबद्ध रुपमा देखाउँदै त्यसमा समायोजित ध्वनि समेत सुनाउने कार्य,
(३) ध्वनिअङ्कनको हकमा परिवार वा छरछिमेक, साथीभाई, इष्टमित्रको भन्दा बाहिर रहेर वा त्यस्ता व्यक्तिको उपस्थिति भए पनि सार्वजनिक रुपमा सुन्न सकिने गरी प्रस्तुत गर्ने कार्य सम्झनु पर्छ
(छ) “आर्थिक अधिकार” भन्नाले प्रतिलिपि अधिकार धनीलाई दफा ७ बमोजिम प्राप्त अधिकार सम्झनु पर्छ ।
(ज) “प्रतिलिपि अधिकार धनी” भन्नाले कुनै रचनाको रचयितामा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो रचयिता, रचयिता बाहेक अन्य कुनै व्यक्ति वा संस्थामा मूल रुपमा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो व्यक्ति वा संस्था र आर्थिक अधिकारको स्वामित्व कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण गरिएको भए त्यस्तो व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(झ) “प्रसारण” भन्नाले सार्वजनिक जानकारीको लागि रचनाको प्रदर्शन वा सञ्चार वा तारविहिन उपकरण वा भू–उपग्रहको माध्यमद्वारा गरिने श्रव्य वा श्रव्य–दृश्य रचनाको प्रसारण सम्झनु पर्छ ।
(ञ) “सार्वजनिक सञ्चार ” भन्नाले कुनै कार्यक्रमको प्रस्तुती, ध्वनिअङ्कन तथा प्रसारणको ध्वनि वा दृश्य वा दुवै प्रसारण स्थलको नजिक वा टाढा जहाँ रहेर पनि सुन्न वा अवलोकन गर्न सकिने गरी तारयुक्त वा तारविहिन उपकरणबाट प्रसारण गरिने कार्य सम्झनु पर्छ ।
(ट) “नैतिक अधिकार” भन्नाले रचयिता वा निजको हकवाला वा निजबाट अधिकार प्राप्त व्यक्तिलाई दफा ८ बमोजिम प्राप्त हुने अधिकार सम्झनु पर्छ ।
(ठ) “प्रस्तोता” भन्नाले अभिनय, गायन, संगीत र नाचको माध्यमद्वारा साहित्यिक वा कलात्मक कार्य वा लोककला अभिव्यक्तिलाई जनसमक्ष प्रस्तुत गर्ने अभिनयकर्ता, गायक, संगीतकार, नर्तक र अन्य व्यक्ति सम्झनु पर्छ ।
(ड) “प्रकाशन” भन्नाले,–
(१) नाटक, चलचित्र वा अन्य कुनै किसिमले अभिनित रचनाको हकमा सो रचनाको अनुवाद वा रुपान्तर गरी वा नगरी सार्वजनिक रुपमा प्रदर्शन गरेको, बिक्री गरेको वा बहालमा दिएको, र
(२) अन्य कुनै रचनाको हकमा सो रचनाको अनुवाद वा रुपान्तर गरी वा नगरी सो रचना सार्वजनिक रुपमा बिक्री वितरण वा उपयोगमा ल्याइएको वा बिक्री वितरण वा उपयोग हुने गरी निकालिएको रचना सम्झनु पर्छ र सो शब्दले अभिनयद्वारा प्रदर्शन हुन सक्ने रचनाको हकमा सो रचनाको रुपान्तर वा अनुवाद गरी वा नगरी सार्वजनिक रुपमा प्रदर्शन गरिएको कुरा समेतलाई जनाउँछ ।
(ढ) “रजिष्ट्रार” भन्नाले दफा ३० को उपदफा (१) बमोजिम तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(ण) “रोयल्टी संकलन संस्था” भन्नाले दफा ३९ अनुसार गठित संस्था सम्झनु पर्छ ।
(त) “तोकिएको ” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।