Section 2
परिभाषा

(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बिर्ता जग्गा” भन्नाले सरकारी मालपोत जम्मै माफी गरी वा त्यस ठाउँको त्यस्तै किसिमका रैकर जग्गामा लागेको मालपोत भन्दा कम तिर्ने गरी पाएको वा हक भैरहेको सबै किसिमको जग्गा सम्झनु पर्छ र खण्ड (ख) र (ग) मा परिभाषा गरिए बमोजिमका जग्गालाई समेत जनाउँछ ।
(ख) “क” श्रेणीको बिर्ता जग्गा भन्नाले ठेकिएको मालपोतसम्म उठाई खान पाउने गरी पाएको वा जसरी लिए पाएको भएपनि ठेकिएको मालपोत वा मालपोतको अङ्कबमोजिम सम्म उठाई खाने गरी आएको नेपाल सरकारमा केही तिर्नु पर्ने वा नपर्ने बिर्ता जग्गा र आवाद नभएको पर्ति जग्गा तथा जङ्गल बिर्ता जग्गा समेत सम्झनु पर्छ ।
(ग) “ख” श्रेणीको बिर्ता जग्गा भन्नाले “क” श्रेणीको बिर्ता जग्गा बाहेकको अरू सबै बिर्ता जग्गा समझनु पर्छ ।
(घ) “बिर्तावाल” भन्नाले जसका नाममा बिर्ता जग्गा दर्ता छ वा जसका नाममा बिर्ता जग्गा प्रदान गरेको लिखत छ वा जसले बिर्ता जग्गा भनी भोग गरेको छ त्यस्ता व्यक्ति वा त्यस्ता व्यक्तिका बिर्ता जग्गा भोग गर्ने हकदारलाई र भोग वा दृष्टिबन्धकी लिई वा अरू कुनै व्यहोराले लिई भोग गरेमा त्यस प्रकार भोग गरुञ्जेल निज वा त्यस्तो जग्गा भोग गर्ने निजका हकवालालाई समेत जनाउँछ ।
(ङ) “मालपोत” भन्नाले रैकर जग्गाका सम्बन्धमा सो जग्गा दर्ता भएका व्यक्ति (यसपछि यस ऐनमा रैकरका मोही भनिएका) ले नेपाल सरकारमा बुझाउन पर्ने ठेकिए बमोजिमको नगदी वा जिन्सी वा दुवै किसिमको मालपोत सम्झनु पर्छ र यस शब्दले बिर्ता जग्गाको सम्बन्धमा पनि बिर्तावालले लिने त्यस्तै ठेकिएको (आँठाका रैकर जग्गा सरहको) मालपोतलाई र बिर्तावालले पाएका अधिकार बमोजिम बिर्ता जग्गाको मोहीको मञ्जुरी लिई वा नलिई त्यस्तो मालपोत माथि सयकडीका हिसाबले थप गरी लिएको अङ्कलाई समेत जनाउँछ ।
(च) “माल अड्डा” भन्नाले मालपोत असुल उपर गरी लिने नेपाल सरकारको माल अड्डा सम्झनु पर्छ र माल अड्डा खारेज भएको ठाउँमा भूमि प्रशासन कार्यालयलाई समेत जनाउँछ ।
(छ) बिर्ता जग्गाको सम्बन्धमा “आयस्ता” भन्नाले लिखत गरी वा नगरी कसैलाई मोहीयानीमा कमाउनु दिई मालपोत भन्दा बढी उठाई खाने गरी आएको नगदी वा जिन्सीलाई जनाउँछ ।
(ज) “माल अड्डाको हाकिम” भन्नाले भूमि प्रशासकलाई समेत सम्झनु पर्छ ।
(झ) … … …
(२) … …. …
(३) उपदफा (२) बमोजिम निर्णय गर्दा शङ्का नउठोस् भन्नाका लागि स्पष्ट गरिन्छ कि कुनै व्यक्तिले एकै चकला वा एकै कित्ता बिर्ता जग्गा मध्ये केहीको मालपोत मात्र खाने गरी र केहीको आयस्ता खाने गरी लिखत गरी वा नगरी कसैलाई कमाउन दिएको रहेछ वा त्यस्तो मध्येको केही बिर्ता जग्गा आफूले कमाई गरेको रहेछ भने एकै चकला वा एक कित्ता भएपनि मालपोतसम्म खाने गरी दिएको जति “क” श्रेणीको बिर्ता जग्गा र आयस्ता खाने गरी दिएको वा आफैले कमाएको जति “ख” श्रेणीको बिर्ता जग्गा मानिनेछ ।