विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “विद्युत” भन्नाले पानी, खनीज तेल, कोइला, ग्यास, शौर्य शक्ति, वायु शक्ति, आणविक शक्ति वा अन्य कुनै साधनबाट उत्पादन हुने विद्युत शक्ति सम्झनु पर्छ ।
(ख) “जलविद्युत” भन्नाले पानीबाट उत्पादन हुने विद्युत शक्ति सम्झनु पर्छ ।
(ग) “अनुमतिपत्र” भन्नाले यस ऐन अन्तर्गत दिइने अनुमतिपत्र सम्झनु पर्छ ।
(घ) “ग्राहक” भन्नाले अनुमतिपत्र पाउने व्यक्तिबाट विद्युत शक्ति प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ङ) “महशूल” भन्नाले यस ऐन बमोजिम विद्युत सेवा उपलब्ध गराए बापत ग्राहकबाट लिइने शुल्क सम्झनु पर्छ ।
(च) “अनुमतिपत्र प्राप्त व्यक्ति” भन्नाले दफा ४ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ ।
(छ) “निरीक्षक” भन्नाले दफा ३७ बमोजिम नियुक्त भएको विद्युत निरीक्षक सम्झनु पर्छ र सो शब्दले प्रमुख विद्युत निरीक्षकलाई समेत जनाउनेछ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।