Section 7
व्यवस्था
: (१) नेपाल सरकारले निगमको राय लिई राष्ट्रहितलाई ख्यालमा राखी आवश्यक देखिएमा समय समयमा आफूले आवश्यक ठहराएको निर्देशन निगमलाई दिन सक्नेछ । त्यस्तो प्रत्येक निर्देशनको पालना गर्नु निगमको कर्तव्य हुनेछ ।
(२) निगमको सबै काम कारवाईहरूको रेखदेख, निर्देशन र व्यवस्था समितिले गर्नेछ । नेपाल सरकारबाट स्वीकृति लिई गर्नु पर्ने गरी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियमहरूमा स्पष्ट लेखिए बाहेक अरू कुराका सम्बन्धमा निगमलाई भएका सबै अधिकारहरूको प्रयोग र कर्तव्यहरूको पालन समितिले गर्नेछ ।
तर, समितिले यो ऐन वा ऐन अन्तर्गतका नियम वा विनियमहरूमा लेखिएका आफ्नो कर्तव्य र अधिकारहरूमध्ये आफूले आवश्यक एवं उचित देखेका कर्तव्य र अधिकारहरू केही शर्त तोकी वा नतोकी महाप्रबन्धक वा उपसमिति वा निगमका अरू पदाधिकारीले आफैले वा तिनबाट आफू मुनिका पदाधिकारीलाई सुम्पी पालन तथा प्रयोग गर्ने गराउने गरी सुम्पन सक्नेछ ।
(३) निगमले यस ऐन अन्तर्गत विनियम बनाई सञ्चालकहरूको काम, कर्तव्य र अधिकारको व्यवस्था गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम सञ्चालकहरूको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको अवस्थामा अध्यक्षले सञ्चालकहरूको काम, कारवाहीको मूल्याङ्कन गरी प्रत्येक वर्ष नेपाल सरकारमा प्रतिवेदन पेश गर्नु पर्नेछ । त्यस्तो मूल्याङ्कन प्रतिवेदनको आधारमा नेपाल सरकारले कुनै सञ्चालकको अवधि थपघट गर्न सक्नेछ ।