दफा १६
जिल्ला विपद् व्यवस्थापन समिति
: (१) जिल्लास्तरमा विपद् व्यवस्थापन सम्बन्धी कार्यको लागि देहाय बमोजिमको जिल्ला विपद् व्यवस्थापन समिति रहनेछ :-
(क)   प्रमुख जिल्ला अधिकारी                 -अध्यक्ष
(ख)   जिल्ला समन्वय समितिको प्रतिनिधि         -सदस्य
(ग)    जिल्ला भित्रका स्थानीय तहका अध्यक्ष
तथा प्रमुख                            -सदस्य
(घ)    स्वास्थ्य सम्बन्धी विषय हेर्ने जिल्लास्थित
कार्यालयको प्रमुख                      -सदस्य
(ङ)    जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु      -सदस्य
(च)    जिल्लास्थित पूर्वाधार तथा सामाजिक
विकाससँग सम्बन्धित कार्यालयका
प्रमुखहरू                             -सदस्य
(छ)   राष्ट्रिय मान्यता प्राप्त दलका जिल्लास्थित
प्रमुख वा प्रतिनिधि                      -सदस्य
(ज)   नेपाल रेडक्रस सोसाइटीको जिल्लास्थित
प्रमुख                                -सदस्य
(झ)   गैरसरकारी महासङ्घको जिल्लास्थित प्रमुख    -सदस्य
(ञ)   नेपाल पत्रकार महासङ्घको जिल्लास्थित
प्रमुख                                -सदस्य
(ट)    उद्योग वाणिज्य महासङ्घको जिल्लास्थित
प्रमुख                                -सदस्य
(ठ)    प्रमुख जिल्ला अधिकारीले तोकेको
अधिकृत                         -सदस्य सचिव
(२) जिल्ला विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम  हुनेछ :-
(क)   परिषद्, कार्यकारी समिति तथा प्रदेश समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्ने, गराउने,
(ख)   जिल्लाको विपद् प्रतिकार्य योजना तयार गरी लागू गर्ने, गराउने,
(ग)    जिल्लास्तरमा रहेका आपत्‌कालीन कार्यसञ्चालन केन्द्रको सञ्चालन गर्ने,
(घ)    उपलब्ध स्रोतको उच्चतम प्रयोग तथा प्रवाह गरी विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धार गर्ने,
(ङ)    नेपाल सरकारबाट स्वीकृत मापदण्ड अनुसार राहत वितरण गर्ने, गराउने तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयलाई सोही अनुसार राहत वितरण गर्न लगाउने,
(च)    विपद् प्रभावित क्षेत्रमा आवश्यकता अनुसार यातायात तथा मानिसको आवत जावतमा नियन्त्रण गर्ने,
(छ)   विपद्‍का कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउने वा हटाउन लगाउने,
(ज)   विपद्को समयमा मृत्यु भएका मानिसको शव तथा जनावरको व्यवस्थापन गर्ने, गराउने,
(झ)   आपत्‌कालीन अवस्थामा विपद् प्रभावित व्यक्तिहरुको लागि आश्रय गृहको व्यवस्था गर्ने,
(ञ)   विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा निकायलाई दुरुस्त राख्न लगाउने,
(ट)    विपद् प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, लत्ताकपडा तथा औषधि उपचार जस्ता अत्यावश्यक वस्तुको प्रबन्ध गर्ने,
(ठ)    विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी भौतिक संरचनाहरूको निर्माण गर्न लगाउने,
(ड)    विपद्को अवस्थामा स्थानीयस्तरमा उपलब्ध सरकारी, गैरसरकारी एवं निजी यातायातका साधन, यन्त्र, सरसामान, खाद्य सामान आदि कानून बमोजिम नियन्त्रणमा लिई प्रयोग गर्ने वा गर्न लगाउने,
(ढ)    विपद्को जोखिममा रहेका वा विपद् प्रभावित क्षेत्रमा रहेका असुरक्षित भवनहरू भत्काउन लगाउने,
(ण)   असुरक्षित भवन तथा स्थानमा रहेका विपद् प्रभावित व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने,
(त)    विपद् प्रभावित क्षेत्रमा स्वयंसेवक, विशेषज्ञ तथा परामर्शदातालाई परिचालन गर्ने र सोको सुपरिवेक्षण गर्ने,
(थ)    राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट गरिने उद्धार तथा राहत एवं सहयोग आदि क्रियाकलापको समन्वय गर्ने,
(द)    विपद्को समयमा खोज, उद्धार तथा राहत र पुनर्लाभ सम्बन्धी कार्यको लागि स्थानीय तह लगायत सम्बन्धित निकायहरुसँग समन्वय गर्ने,
(ध)    विपद् पश्चात आउन सक्ने सहायक प्रकोपहरुको न्यूनीकरणका लागि आवश्यक कार्यहरू गर्ने,
(न)    विपद् प्रभावित क्षेत्रमा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(प)    विपद् सम्बन्धी सूचना प्रवाह गर्ने,
(फ)   उद्धार तथा राहत कार्यक्रमको प्रगति विवरण प्राधिकरणमा पठाउने,
(ब)    विपद् व्यवस्थापन सम्बन्धमा तोकिए बमोजिमका अन्य काम गर्ने,  गराउने ।
(३) जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालय, बैठक सम्बन्धी कार्यविधि र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।