दफा २५
पीडित बालबालिकाका अधिकार
पीडित बालबालिकालाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियाको हरेक चरणमा देहाय बमोजिमका बाल अनुकूल न्यायको अधिकार हुनेछ :—
(क)   आफूले बुझ्ने भाषामा जानकारी पाउने,
(ख)   सहभागी वा संलग्न हुने,
(ग)   व्यक्तिगत परिचयात्मक विवरण गोप्य राख्न पाउने,
(घ)   पीडकबाट मनासिब माफिकको क्षतिपूर्ति भराई पाउने,
तर यस खण्डले पीडितले राज्यबाट क्षतिपूर्ति पाउन सक्ने अवसरलाई सीमित पारेको मानिने छैन।
(ङ)   निशुल्क कानूनी सहायता तथा आवश्यकता अनुसार मनोसामाजिक परामर्श सेवा पाउने र चाहेमा अलग्गै कानून व्यवसायी राख्न पाउने,
(च)   अनुसन्धान गर्ने निकाय वा बाल अदालतले प्रयोग गर्ने भाषा पीडितले नबुझ्ने भएमा निशुल्क दोभाषे, साङ्केतिक भाषा विज्ञ वा अनुवादको सुविधा पाउने,
(छ)   अनुसन्धान गर्ने निकाय वा बाल अदालतले गरेका निर्णय तथा आदेश लगायतका कागजातहरूको प्रतिलिपि निशुल्क पाउने,
(ज)   पीडक वा निजको पक्षबाट हुन सक्ने हानिबाट सुरक्षित हुन प्रहरी संरक्षण पाउने,
(झ)   बन्द इजलासबाट आफ्नो मुद्दाको सुनुवाइ हुने,
(ञ)   कारबाहीका बखत आवश्यकतानुसार प्रतिवादीको उपस्थितिलाई अप्रत्यक्ष तुल्याउन पाउने।