दफा १२
बिदा
(१) महासचिव र सचिवले पूरा पारिश्रमिक सहितको देहाय बमोजिमका बिदाहरू पाउन सक्नेछन् ः-
(क)   पर्व बिदा र भैपरी आउने बिदा,
(ख)   घर बिदा,
(ग)   बिरामी बिदा,
(घ)   किरिया बिदा,
(ङ)   प्रसूति बिदा, र
(च)   प्रसूति स्याहार बिदा
(२) महासचिव र सचिवले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन लिन पाउनेछन् ।
(३) महासचिव र सचिवले काम गरेको अवधिको बाह्र दिनको निमित्त एक दिनको दरले घर बिदा पाउनेछन् । घर बिदा बढीमा एक सय असी दिनसम्म संचित गरी राख्न सकिनेछ। घर बिदाको प्रयोजनको निमित्त काम गरेको अवधि कायम गर्दा भैपरी आउने बिदा र पर्व बिदा बसेको दिन र सार्वजनिक बिदाको दिन समेत काम गरेको दिनमा  जोडिनेछ ।
(४) महासचिव र सचिवले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछन् । त्यस्तो बिरामी बिदा जति पनि सञ्चित गरी राख्न सकिनेछ ।
(५) महासचिव र सचिवले आफै किरिया बस्नु परेमा कुल धर्म हेरी बढीमा पन्ध्र दिनसम्मको किरिया बिदा लिन पाउनेछन् ।
(६) महासचिव वा सचिव गर्भवती भएमा निजहरुले सुत्केरीको अघि वा पछि गरी अन्ठानब्बे दिन प्रसूति बिदा पाउनेछन् ।
(७) महासचिव वा सचिवको पत्नी सुत्केरी हुने भएमा महासचिव वा सचिवले सेवा अवधिभरमा बढीमा दुईपटक सुत्केरीको अघि वा पछि पन्ध्रदिन प्रसूति स्याहार बिदा पाउनेछन् ।
(८) महासचिव वा सचिवले आफ्नो पदबाट अवकाश पाएमा उपदफा (३) र (४) बमोजिम सञ्चित रहेको बिदा बापत निजले खाइपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट रुपमा संघीय संसद सचिवालयबाट लिन पाउनेछन् ।
(९) उपदफा (८) बमोजिम पाउने रकम लिन नपाउँदै महासचिव वा सचिवको मृत्यु भएमा दफा १६ बमोजिम पारिवारिक निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले सो रकम लिन पाउनेछ ।