दफा ४८
विशेष संरक्षणको आवश्यकता भएका बालबालिका
(१) देहायका बालबालिका विशेष संरक्षणको आवश्यकता भएका बालबालिका मानिनेछन् ः-
(क)   अनाथ बालबालिका,
(ख)   अस्पताल वा अन्य कुनै सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका, बाबुआमाबाट अलग्गिएका वा बाबुआमा पत्ता नलागी बेवारिसे भएका बालबालिका,
(ग)   बाबुआमालाई गम्भीर शारीरिक वा मानसिक अपाङ्गता वा अशक्तता भएको कारण उचित हेरचाह नपाएका बालबालिका,
(घ)   कानूनी विवादमा परेका बालबालिकामध्ये दिशान्तर प्रक्रिया अन्तर्गत वैकल्पिक हेरचाहको लागि सिफारिस भएका बालबालिका,
(ङ)   थुनामा रहेका वा बन्दी बाबु वा आमासँग आश्रित भई कारागारमा रहेका बालबालिका,
(च)   जबरजस्ती करणी वा कानून बमोजिम सजाय हुने हाडनाताबाट जन्मिएको शिशुलाई आफूले पालनपोषण गर्न नसक्ने भनी बाल कल्याण अधिकारी समक्ष निवेदन परेका बालबालिका,
(छ)   बाबु, आमा वा अभिभावकबाट दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले बालबालिकाको उच्चतम हितको लागि परिवारबाट अलग गरिएका बालबालिका,
(ज)   जबरजस्ती वा बँधुवा प्रकृतिका वा जोखिमपूर्ण वा निकृष्ट प्रकृतिको वा प्रचलित कानून विपरीत श्रममा संलग्न भई जीवनयापन गरिरहेका, धूमपान, मद्यपान एवं
अन्य लागूऔषधको कुलतमा फसेका, एच.आई.भी. सङ्क्रमित बालबालिका,
(झ)   गम्भीर शारीरिक वा मानसिक स्वास्थ्य समस्या वा गम्भीर अपाङ्गता भएको कारण जीवन जोखिममा रही बाबुआमा वा परिवारबाट उपचारको व्यवस्था हुन नसकेको वा सामान्य जीवनयापन गर्न कठिनाइ भएका बालबालिका,
(ञ)   बालबालिका विरुद्धको कसूरबाट पीडित भएका वा त्यस्तो जोखिममा रहेका बालबालिका,
(ट)   विपद् वा सशस्त्र द्वन्द्वका कारणले बाबुआमा दुवै वा आमा बाबुमध्ये एक गुमाएका, बेपत्ता भएका वा आफू नै शारीरिक वा मानसिक रूपमा घाइते भएका वा अपाङ्गता भएका बालबालिका,
(ठ)   विपन्न दलित समुदायका बालबालिका,
(ड)   मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष संरक्षणको आवश्यकता भएका बालबालिका भनी तोकेका अन्य बालबालिका।
(२) उपदफा (१) बमोजिमका बालबालिकालाई आवश्यकता अनुसार उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुनर्स्थापना, वैकल्पिक हेरचाह, परिवार सहयोग, सामाजिक सुरक्षा, सामाजिकीकरण लगायत अन्य सेवा तथा सहयोग तोकिए बमोजिम हुनेछ।