दफा
अध्यक्ष तथा सदस्यको नियुक्ति
: (१) नेपाल सरकारले देहाय बमोजिमको समितिको सिफारिसमा आयोगको अध्यक्ष तथा सदस्य नियुक्ति गर्नेछ ः-
(क) सचिव, मन्त्रालय –संयोजक
(ख) मन्त्रालयले मनोनित गरेको विद्युत विज्ञ एक जना –सदस्य
(ग) मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत –सदस्य–सचिव
(२) उपदफा (१) बमोजिमको समितिले अध्यक्ष तथा सदस्य नियुक्ति गर्न उम्मेदवार सिफारिस गर्ने प्रयोजनको लागि ईच्छुक उम्मेदवारलाई आवेदन सहितको व्यक्तिगत विवरण पेश गर्न कम्तीमा पन्ध्र दिनको म्याद दिई सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको समितिले उपदफा (२) बमोजिम आवेदन गर्ने उम्मेदवार मध्येबाट उपयुक्त ठहरिएका व्यक्तिको नाम आवेदन गर्ने म्याद समाप्त भएको एक्काईस दिनभित्र नेपाल सरकार समक्ष सिफारिस गर्नु पर्नेछ । त्यसरी सिफारिस गर्दा सदस्यको हकमा दफा ५ को खण्ड (ख) बमोजिमका अलगअलग विषयका व्यक्तिको नाम सिफारिस गर्नु पर्नेछ ।
तर अलगअलग विषयका पर्याप्त उम्मेदवार उपलव्ध हुन नसकेमा एउटै विषयका एक जनाभन्दा बढी व्यक्तिलाईसमेत सिफारिस गर्न सकिनेछ ।
(४) उपदफा (१) बमोजिमको समितिको बैठकको अध्यक्षता त्यस्तो समितिको संयोजकले गर्नेछ र संयोजक तथा एक जना सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) उपदफा (१) बमोजिमको समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) अध्यक्ष तथा सदस्यको लागि उम्मेदवार सिफारिस गर्ने सम्बन्धी आधार, प्रकृया र बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(७) उपदफा (१) बमोजिमको समितिको संयोजक तथा सदस्यको बैठक भत्ता अर्थ मन्त्रालयले तोके बमोजिम हुनेछ ।