नियम ४६
अध्ययन बिदा
(१) व्यवस्थापिका–संसद सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा व्यवस्थापिका–संसद वा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा वा स्वदेशी विश्वविद्यालयबाट प्राप्त छात्रवृत्ति वा कोटामा स्वीकृति लिई खुल्ला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगितामा छानिई वा मनोनयन भई अध्ययन गर्न जाने कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउनेछ ।
(२) आफ्नो सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा, नेपालसँग दौत्य सम्बन्ध कायम भएका देश वा नेपाल सदस्य रहेका अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी पूर्व स्वीकृती लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा अध्ययन वा तालिममा सहभागि हुने अवसर पाएका कर्मचारीलाई समेत उपनियम (१) बमोजिम अध्ययनको लागि मनोनयन गरी अध्ययनका लागि अध्ययन बिदा र तालीमको लागि तालीम काज दिन सकिनेछ ।
(३) कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । तर समितिले आवश्यक ठानेको अवस्थामा अध्ययन बिदाको अवधिमा दुई वर्षसम्म थप गर्न सक्नेछ ।
(४) अध्ययन बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा पूर्व स्वीकृति लिई निजी प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न जाने कर्मचारीलाई उपनियम (३) बमोजिमको अध्ययन बिदा दिइनेछ ।
तर यो नियमावली प्रारम्भ भएपछि यस्तो अध्ययन बिदामा बस्ने कर्मचारीले तलब र अन्य सुविधा पाउने छैन ।
(६) तीन वर्ष सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले अध्ययन बिदा पाउन सक्ने छैन ।
स्पष्टीकरण :- यस नियमावली बमोजिम कर्मचारीले गरेको अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना भएको रहेछ भने यस उपनियमको प्रयोजनको लागि सो अस्थायी सेवा अवधि समेत गणना गरिनेछ ।
(७) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन बिदा लिएको कर्मचारीले पूर्व स्वीकृति विना सो शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैन । यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक सस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन बिदा स्वतः रद्द हुनेछ । यसरी बिदा रद्द भएको विवरण सचिवालयले निजामती किताबखानामा पठाउनु पर्नेछ ।
(८) कुनै कर्मचारीले कार्यालय समय बाहेकको समयमा कुनै शिक्षण संस्थाम  अध्ययन गर्न वा परीक्षा दिन चाहेमा सचिवालयलाई जानकारी दिनु पर्नेछ ।