नियम २०
अनुमतिपत्र नवीकरण

(१) नियम १९ को उपनियम (२) बमोजिमको अनुमतिपत्र दुई वर्षसम्म बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र बहाल रहने अवधि समाप्त भएको मितिले तीन महिनाभित्र सम्बन्धित कार्यालयबाट दुईसय रुपैयाँ दस्तुर तिरी अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम म्याद नाघेपछि कसैले त्यस्तो म्याद नाघी नवीकरण हुन नसकेको मनासिव कारण सहित अनुमतिपत्र नवीकरणको लागि निवेदन दिन आएमा थप छ महिनासम्मको लागि सम्बन्धित कार्यालयले उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा एकसय रुपैयाँ थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ ।
(४) यस नियममा जुनसुकै कुरा लेखिएको भए पनि म्याद भित्र नवीकरण नगराइएमा नवीकरण हुन नसकेको मनासिव कारण देखाई निवेदन दिएमा सो को लागि
लाग्ने दस्तुरको अतिरिक्त प्रत्येक वर्षको लागि दुई सय रुपैयाँका दरले दस्तुर लिई सम्बन्धित कार्यालयले त्यस्तो अनुमतिपत्र नवीकरण गरी दिन सक्नेछ ।