दफा
अनुमतिपत्र लिनु पर्ने
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम अनुमतिपत्र लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिले देहाय बमोजिमको विवरण तथा कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:-
(क) अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको नाम, ठेगाना तथा सम्पर्क टेलिफोन नम्बर,
(ख) अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको राष्ट्रिय परिचयपत्र वा नागरिकता वा राहदानीको प्रतिलिपि,
(ग) कानून बमोजिम स्थापित उद्योग, व्यवसाय, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण,
(घ) अनुमतिपत्र प्राप्त गर्न चाहेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको नाम,
(ङ) उत्पादन वा बिक्री वितरण गर्ने भए उत्पादन वा बिक्री वितरण गर्ने स्थान र निकासी वा पैठारी गर्ने भए निकासी वा पैठारी गर्ने मुलुक,
(च) तेजाब वा अन्य घातक रासायनिक पदार्थको सम्मिश्रण, मात्रा लगायतको प्राविधिक विवरण (स्पेशिफिकेशन),
(छ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन गर्ने भएमा उत्पादनको प्रयोजन, उत्पादन क्षमता, उत्पादन गरिने अनुमानित परिमाण, स्तर र प्रकार, त्यसको लागि आवश्यक पूर्वाधार पूरा गरेको विवरण,
(ज) तेजाब वा अन्य घातक रासायनिक पदार्थको पैठारी गर्ने भए त्यसको प्रयोजन र प्रयोग हुने क्षेत्र,
(झ) उत्पादन, निकासी वा पैठारी गर्ने भए सम्बन्धित मन्त्रालयको सिफारिसपत्र,
(ज) तोकिए बमोजिमको अन्य-विवरण ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अनुमतिपत्र प्रदान गर्न मनासिब देखिएमा अनुमतिपत्र जारी गर्ने अधिकारीले निवेदकलाई तेजाब वा अन्य घातक रासायनिक -पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री वितरण गर्दा पालना गर्नु पर्ने शर्त उल्लेख गरी निवेदन दिएको पन्ध्र दिन भित्र तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नु पर्नेछ।
(४) अनुमतिपत्र प्राप्त गर्नका लागि लाग्ने दस्तुर तथा अनुमतिपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।