दफा २१ख
अनुसन्धान अधिकारीको काम, कर्तव्य र अधिकार
: (१) लागू औषध नियन्त्रण कार्यमा खटिने अनुसन्धान अधिकारीलाई लागू औषधको सिलसिलामा अनुसन्धान गर्नु पर्दा प्रचलित कानून अनुसार प्रहरीलाई भए सरहको अधिकार प्राप्त हुनेछ ।
(२) लागू औषधको कारोबारको सिलसिलामा अनुसन्धान गर्दा त्यस्तो लागू औषधको कारोबारमा सन्दिग्ध देखिएको कुनै व्यक्तिको मालसामान खानतलासी गर्न प्रचलित भन्सार ऐन अनुसार भन्सार अधिकृतलाई भए सरहको अधिकार अनुसन्धान अधिकारीलाई प्राप्त हुनेछ ।
तर खानतलासी गर्नु अघि अनुसन्धान अधिकारीले सम्बन्धित व्यक्तिलाई खानतलासीको पूर्जी दिनु पर्नेछ ।
(३) लागू औषध अनुसन्धानको सिलसिलामा सन्दिग्ध देखिएको हुलाकबाट प्राप्त हुने कुनै वस्तुको सेन्सर गर्न प्रचलित हुलाक ऐन अनुसार हुलाक अधिकृतलाई भएसरहको अधिकार अनुसन्धान अधिकारीलाई प्राप्त हुनेछ ।