नियम
अनुसन्धान तथा तहकिकात

(१) नियम ३ बमोजिम वितरकले कसूरको सूचना पाएपछि अनुसन्धान अधिकारीले यथाशिघ्र अनुसन्धान तथा तहकिकातको कारबाही शुरु गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान तथा तहकिकात गर्दा नजिकको प्रहरी, स्थानीय प्रशासन तथा स्थानीय निकायको आवश्यक सहयोग लिन सकिनेछ ।
(३) अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा कसूरदारसँग आवश्यक सोधपुछ गरी निजले व्यक्त गरेको कुरालाई लेखबद्ध गरी सहीछाप गराई राख्नु पर्नेछ । कसूरदारले सहिछाप गर्न इन्कार गरेमा सोही व्यहोरा जनाउनु पर्नेछ ।
(४) अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा देहाय बमोजिमका कुराहरू खुलाई सर्जमिन मुचुल्का गर्नु पर्नेछ ः–
(क) कसूर गर्ने तथा कसूरसँग सम्बद्ध व्यक्तिको विवरण,
(ख) कसूर भएको मिति, स्थान तथा कसूरको तरिका,
(ग) कसूरसँग सम्बद्ध मालवस्तु, उपकरण तथा अन्य विवरण ।
(५) अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा कुनै स्थानमा कसूरसँग सम्बद्ध मालवस्तु वा उपकरण छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भएमा निजले त्यस्तो स्थानमा प्रवेश गरी कसूरसँग सम्बद्ध मालवस्तु तथा उपकरण फेला परेमा कब्जामा लिई त्यस्तो मालवस्तुको मुचुल्का तयार गरी त्यसको दुईप्रति निस्सा बनाई एकप्रति सम्बन्धित व्यक्तिलाई दिई अर्को प्रति फाईलमा संलग्न गर्नु पर्नेछ ।
(६) उपनियम (४) बमोजिम सर्जमिन गर्दा तथा उपनियम (५) बमोजिम मुचुल्का गर्दा अनुसन्धान अधिकारीले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडा समितिको कम्तीमा एकजना सदस्य, तीनजना स्थानीय व्यक्ति र फेला परेसम्म कसूरसँग सम्बद्ध व्यक्ति रोहवरमा राख्नु पर्नेछ । तर कसूरसँग सम्बद्ध व्यक्ति वा गाउँ विकास समिति वा नगरपालिकाको वडा समितिका सदस्य उपस्थित नभई रोहवरमा नरहेको कारणले मात्र सर्जमिन मुचुल्का वा उपनियम (५) बमोजिमको मुचुल्का तयार गर्न बाधा पु¥याएको मानिने छैन ।