दफा २०
अन्य विश्वविद्यालय अन्तर्गतका क्याम्पस सञ्चालन सम्बन्धी विशेष व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालित देहायका क्याम्पसहरू सभाले निर्धारण गरेको मितिदेखि विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा कायम रहेको मानिनेछः–
(क) सूर्यनारायण, सत्यनारायण मो यादव बहुमुखी क्याम्पस, सिराहा,
(ख) महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज ।
(२) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयले चाहेमा उपदफा (१) मा लेखिएदेखि बाहेक कुनै विश्वविद्यालयका आङ्गिक क्याम्पसलाई त्यस्तो विश्वविद्यालयको स्वीकृति लिई आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्न सक्नेछ ।
(३) विश्वविद्यालयले चाहेमा अन्य विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसलाई त्यस्तो क्याम्पसको अनुरोधमा सम्बन्धन प्राप्त क्याम्पसको रूपमा सञ्चालन गर्न सक्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम कुनै क्याम्पस विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन भएपछि त्यस्तो क्याम्पसको नाममा रहेको चल अचल सम्पत्ति समेत विश्वविद्यालयको आङ्गिक क्याम्पसमा सर्नेछ ।
(५) उपदफा (१) वा (२) बमोजिम कुनै क्याम्पस विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा कायम भएपछि सो क्याम्पसको स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक तथा कर्मचारी विश्वविद्यालयको आङ्गिक क्याम्पसको शिक्षक तथा कर्मचारीको रूपमा रहन चाहेमा विश्वविद्यालयको उपकुलपति नियुक्ति भएको मितिले तीन महिनाभित्र विश्वविद्यालयमा निवेदन दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम निवेदन दिने शिक्षक तथा कर्मचारी विश्वविद्यालयको शिक्षक तथा कर्मचारीको रूपमा स्वतः कायम भएको मानिनेछ ।
(७) उपदफा (५) बमोजिम निवेदन नदिएका शिक्षक तथा कर्मचारीको सेवा विश्वविद्यालयलाई आवश्यक भएमा विश्वविद्यालयले त्यस्ता शिक्षक तथा कर्मचारी कार्यरत रहेको विश्वविद्यालयलाई काजमा खटाउनको लागि अनुरोध गर्न सक्नेछ र यसरी अनुरोध भई आएमा त्यस्ता शिक्षक तथा कर्मचारीसँग सम्बन्धित विश्वविद्यालयले काज खटिएको विश्वविद्यालयबाटै पारिश्रामिक तथा सुविधा पाउने गरी त्यस्ता शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयमा काजमा खटाउन सक्नेछ ।
(८) उपदफा (७) बमोजिम काजमा खटाउने तथा पारिश्रमिक र सुविधा दिने सम्बन्धी अन्य विषय सम्बन्धित विश्वविद्यालयहरु बिचको आपसी समझदारीबाट निर्धारण हुनेछ ।
(९) उपदफा (५) बमोजिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको शिक्षक तथा कर्मचारीको रूपमा कायम भएका शिक्षक तथा कर्मचारीले साविक क्याम्पसमा गरेको स्थायी सेवा विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पसमा गरेको मानिनेछ र सोही बमोजिम निजहरूको नोकरी गणना हुनेछ । निजहरूको नाममा रहेको सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निजको सेवाका शर्त सम्बन्धी कानून बमोजिम पाउने सुविधा त्यस्ता शिक्षक तथा कर्मचारीको नाममा कायम गरी विश्वविद्यालयबाट निरन्तरता दिइनेछ ।
(१०) उपदफा (५) वा (७) बमोजिम कुनै शिक्षक तथा कर्मचारी विश्वविद्यालयको आङ्गिक क्याम्पसमा बहाल रहेमा निजहरूलाई मर्का पर्ने गरी साविकको पारिश्रमिक, सुविधा तथा सेवा शर्तमा कुनै परिवर्तन गरिने छैन ।
(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) वा (२) बमोजिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा परिणत भएको क्याम्पसमा यो ऐन प्रारम्भ हुनु अघि भर्ना भएका विद्यार्थीहरूले चाहेमा स्वीकृति प्रदान गर्ने विश्वविद्यालयको आङ्गिक क्याम्पसको विद्यार्थीको हैसियतले परीक्षा दिन सक्नेछन् ।
(१२) उपदफा (१) वा (२) बमोजिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा परिणत भएको क्याम्पसमा यो ऐन प्रारम्भ हुनु अघि भर्ना भएका विद्यार्थीको परीक्षा तथा त्यस्ता विद्यार्थीको अध्ययन अभिलेख सम्बन्धी व्यवस्था स्वीकृति प्रदान गर्ने विश्वविद्यालय र विश्वविद्यालय बीच भएको समझदारी अनुरूप हुनेछ ।
(१३) यस दफा बमोजिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा परिणत भएको क्याम्पस, त्यस्ता क्याम्पसको सम्पत्ति, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सम्बन्धमा भएको व्यवस्था दफा ३ को उपदफा (३) बमोजिमको आधार क्याम्पस, त्यस्तो क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थीको हकमा समेत समान रूपले लागू हुनेछ ।