(१) नेपाल सरकारले आवश्यकतानुसार नेपालको विभिन्न क्षेत्रहरुमा अपाङ्ग घरहरु स्थापना गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अपाङ्ग घरको स्थापना नभएसम्म अरु कुनै व्यक्ति वा संस्थाद्वारा सञ्चालित अपाङ्ग घरलाई पनि नेपाल सरकारले उपयोग गर्न सक्नेछ ।
तर यस उपनियममा लेखिएको कुनै कुराले त्यस्तो अपाङ्ग घरको सञ्चालनमा हस्तक्षेप गर्ने अधिकार नेपाल सरकारलाई भएको मानिने छैन ।
(३)समाज कल्याण अधिकृत वा प्रहरी कर्मचारी आफैले कुनै वृद्व अपाङ्ग वा असहाय अपाङ्ग फेला पारेमा वा अरु कुनै व्यक्तिले बुझाउन ल्याएमा त्यस्तो अपाङ्ग को सम्बन्धमा यथासम्भव तीन पुस्ते, नाम, थर ठेगाना, फोटो तथा शरिरमा रहेको कुनै विशेष चिन्ह सहितको विवरण र औंठाको छाप समेत लिई त्यस्तो अपाङ्गलाई नजिकको अपाङ्ग घरमा बुझाउनु पर्छ र सम्बन्धित अपाङ्ग घर प्रमुखले पनि बुझि लिनु पर्छ ।
(४) अपाङ्ग घर प्रमुखले वृद्ध अपाङ्ग वा असहाय अपाङ्गहरुलाई लिङ्गको आधारमा छुट्टाछुट्टै राख्नु पर्नेछ ।
(५) वेवारीस असहाय अपाङ्गको बाबु, आमा, नातेदार वा संरक्षक पत्ता लगाउने प्रयोजनको निमित्त समाज कल्याण अधिकृत, अपाङ्ग घर प्रमुख वा प्रहरी कार्यालयले त्यस्तो अपाङ्गको हुलिया तथा फोटो सहितको सूचना कुनै पत्रपत्रिकामा प्रकाशित गराउन वा सञ्चारको अन्य माध्यमबाट प्रसारण गराउन सक्नेछ ।