नियम १७
आशयपत्र पेश गर्ने
(१) इच्छुक लगानीकर्ताले आशयपत्र सम्बन्धी कागजात सम्बन्धित निकायबाट प्राप्त गरी वा सम्बन्धित वेबसाइट मार्फत डाउनलोड गरी आशयपत्र आह्वान सम्बन्धी सूचनामा उल्लिखित कुराहरूको आधारमा आशयपत्र र सोसँग सम्बन्धित कागजात तयार गरी सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम आशयपत्र पेश गर्दा देहायका विषय खुलाउनु पर्नेछः-
(क) आशयपत्र पेश गर्ने व्यक्ति, कम्पनी वा संस्थाको विवरण,
(ख) परियोजना कार्यान्वयन गर्न सक्ने वित्तीय तथा प्राविधिक क्षमता एवं दक्षता,
(ग) परियोजना कार्यान्वयनको व्यावसायिक य्रोजना,
(घ) परियोजना कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत,
(ङ) परियोजनाको सम्भाव्यता अध्ययन नभएको भए आर्थिक, सामाजिक, प्राविधिक तथा वातावरणीय रूपमा परियोजना सम्भाव्य हुन सक्ने आधार,
(च) अन्य आवश्यक कुरा।
(३) उपनियम (१) बमोजिम आशयपत्र पेश गर्दा लगानीकर्ताले एक लाख पचास हजार रुपैयाँ दस्तुर सम्बन्धित निकायले तोकेको बैङ्क खातामा जम्मा गरी सोको निस्सा समेत पेश गर्नु पर्नेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आशयपत्र पेश गर्ने निवेदक_छनौट भएमा निजले लगानी स्वीकृतिका लागि छुट्टै दस्तुर बुझाउनु पर्ने छैन ।
(५) उपनियम (१) बमोजिम आशयपत्र पेश हुन आएमा सम्बन्धित निकायले छुट्टै दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(६) उपनियम (१) बमोजिम पेश भई दर्ता भएका आशयपत्र सम्बन्धित लगानीकर्ता वा निजको प्रतिनिधिको रोहबरमा आशयपत्र आह्वान सम्बन्धी सूचनामा तोकिएको मिति, समय र स्थानमा खोली मुचुल्का गरी मूल्याङ्कनका लागि पेश गर्नु पर्नेछ।
तर यसरी तोकिएको मिति, समय र स्थानमा आशयपत्र पेश गर्ने लगानीकर्ता वा निजका प्रतिनिधि उपस्थित नभएको कारणले मात्र आशयपत्र खोल्न बाधा पर्ने छैन।