दफा
उपलब्धि
विगतमा गरिएका नीतिगत प्रयासका कारण सूचना तथा सञ्चार प्रविधि क्षेत्रले नेपालमा दूर सञ्चार सेवामा व्यापक पृँहुच एवं इन्टरनेटको बढ्दो प्रयोग तथा त्यस क्षेत्रको प्रतिस्पर्धात्मक सघनता बढाउने कार्यमा उल्लेखनीय योगदान गरेको छ । विशेषत: मोवाईल फोनको विस्तारले आम समुदायको दूरसञ्चार सेवाको पहुँचमा व्यापक सुधार ल्याएको छ । हाल देशका ९० प्रतिशत भन्दा बढी जनतामा मोवाईल फोनको पहुँच पुगेको छ । यसै गरी समग्र दूर सञ्चार पूर्वाधार विकासमा समेत उल्लेखनीय प्रगति भएको छ । हाल Fiber optic प्रविधिमा आधारित विभिन्न मेरुदण्डीय पूर्वाधार उपलब्ध छन्‌ । नेपाल विद्युत प्राधिकरणको पूर्वाधारमा आधारित काठमाण्डौं - हेटौडा Fiber Optic Backbone संचालनमा रहेको छ भने काठमाण्डौं बुटवल तथा पोखरा हुँदै Fiber Optic Backbone समेत संचालनमा आइसकेको छ । यी पूर्वाधारहरु मार्फत ग्रामीण भेगहरुमा हाल भैरहेको सूचना तथा सञ्चार प्रविधि सेवाको घनत्वमा थप विस्तार गर्नु पर्ने आवश्यक भएको छ । देशभर दूर सञ्चार पूर्वाधारमा भएको उल्लेख्य विकासको अतिरिक्त सूचना प्रविधि प्रयोगको क्षेत्रमा समेत केही उत्साहवर्धक प्रयासहरु भएका छन्‌ ।यसै क्रममा गभर्नमेन्ट इन्टरप्राइज आर्किटेक्चर (Government Enterprise Architecture) तथा राष्ट्रिय इन्टरअपरेबिलिटी फ्रेमवर्क (Interoperability Framework) समेत विकास गरी लागु गरिएको अवस्था छ। विद्युतीय कारोबार ऐन २०६३ लागु भै सो को कार्यान्वयनका लागि प्रमाणिकरण नियन्त्रकको कार्यालय समेत स्थापना भएको छ । सूचना प्रविधिको विकासका लागि सूचना प्रविधि विभाग राष्ट्रिय सूचना तथा प्रविधि केन्द्र स्थापना भैसकेका छन्‌ ।