(१) विश्वविद्यालयको उप–कुलपति पदमा नियुक्तिका लागि सिफारिश पेश गर्न कुलपतिबाट सभाका सदस्यहरूमध्येबाट तीन जनाको एक समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिले कुलपति समक्ष उप–कुलपतिको पदको लागि कम्तीमा तीन जनाको नामावलीको सिफारिश पेश गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको सिफारिश उपर विचार भई कुलपतिबाट उप–कुलपतिको नियुक्ति हुनेछ ।
(४) उप–कुलपतिको कार्यकाल एक पटकमा चार वर्षको हुनेछ ।
(५) उप–कुलपतिको अनुपस्थितिमा निजको काम चलाउने सम्बन्धमा कुलपतिबाट व्यवस्था भएबमोजिम हुनेछ ।
(६) उपदफा (५) बमोजिम व्यवस्था नभएसम्म शिक्षाध्यक्षले उप–कुलपतिको काम चलाउनेछ ।
(७) उप–कुलपति पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ । निजको पारिश्रमिक र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछन् ।
(८) उप–कुलपति विश्वविद्यालयको प्रमुख प्रशासकीय तथा शैक्षिक पदाधिकारी हुनेछ ।
(९) कुलपति र सह–कुलपति दुवैको अनुपस्थितिमा विश्वविद्यालयको दीक्षान्त समारोह र सभामा उप–कुलपतिले अध्यक्षता गर्नेछ ।
(१०) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको पालन गर्नु गराउनु उप–कुलपतिको कर्तव्य हुनेछ र यसको प्रयोजनको निमित्त उप–कुलपतिको विचारमा तुरुन्त कुनै काम कारवाही नगरी नहुने आकस्मिक अवस्था आइरहेको छ भन्ने लागेमा निजले उचित र आवश्यक देखेको काम कारवाही गर्न सक्नेछ र त्यसको सूचना सकभर चाँडो सम्बन्धित पदाधिकारी वा अङ्गलाई दिनेछ ।
(११) उप–कुलपतिले सभाको निर्णय वा आदेशलाई कार्यान्वयन गर्नेछ ।
(१२) विश्वविद्यालयको सबै काम कारवाही उपर उप–कुलपतिको सामान्य नियन्त्रण रहनेछ ।
(१३) सभामा पेश हुने सबै विषयहरू उप–कुलपति मार्फत पेश गरिनेछ ।
(१४) उप–कुलपतिको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।