दफा १७
उम्मेदवारको मनोनयन
(१) दफा १३ बमोजिम अयोग्यता नभएको व्यक्तिलाई यस ऐन
बमोजिम हुने निर्वाचनमा तोकिए बमोजिम उम्मेदवार मनोनयन गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम निर्वाचनमा उम्मेदवार मनोनयन गर्दा देहाय बमोजिमका एकजना प्रस्तावक र एकजना समर्थक हुनु पर्नेछः-
(क) गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष र वडा सदस्यको पदको लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति,
(ख) अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति,
(ग) गाउँ कार्यपालिका र नगर कार्यपालिकाका महिला तथा दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्यको लागि सम्बन्धित गाउँ सभा वा नगर सभाको सदस्य,
(घ) जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको लागि सम्बन्धित जिल्ला सभाको सदस्य ।
(३) दलले खडा गरेको उम्मेदवारको सम्बन्धमा त्यस्तो दलले निजलाई औपचारिक पत्र समेत दिएको हुनु पर्नेछ र दफा १८ बमोजिम औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीले त्यस्तो पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम मनोनयनपत्र पेश गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
तर दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन ।
(५) उपदफा (१) बमोजिम गाउँपालिका वा नगरपालिकाको वडा समितिका महिला वडा सदस्य पदमा मनोनयनपत्र पेश गर्दा दलले कम्तीमा एक जना दलित महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
तर दलले एक जना मात्र महिला वडा सदस्य पदमा उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन ।
(६) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई मनोनयन गरिएको अवस्थामा निजले मनोनयनपत्रमा आफ्नो मञ्जुरी लेखी दस्तखत समेत गर्नु पर्नेछ ।
(७) कुनै व्यक्तिलाई एउटा निर्वाचनको लागि बढीमा दुई मनोनयनपत्रद्वारा मनोनयन गर्न सकिनेछ ।