दफा १३२
कम्पनीको दर्ता खारेजी
(१) दफा १३१ को उपदफा (२) को खण्ड (च) बमोजिम कम्पनी खारेज भएको प्रतिवेदन कार्यालयले प्राप्त गरेपछि कार्यालयले यस ऐन बमोजिम त्यस्तो कम्पनीको नाम कम्पनी दर्ता किताबबाट हटाई कम्पनीको दर्ता खारेज भएको आदेश जारी गर्नेछ ।
(२) उपदफा (१) बमोजिम कम्पनीको दर्ता खारेज भएको आदेश जारी गरेपछि कार्यालयले त्यस्तो कम्पनीको नाम कम्पनी दर्ता किताबबाट हटाई त्यस्तो कम्पनी विघटन भएको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कृरा लेखिएको भए तापनि दामासाही सम्बन्धी ऐन, २०६३ बमोजिम नियुक्त लिक्विडेटरले कुनै कम्पनी खारेज गर्नको लागि त्यस्तो कम्पनीको खारेजीको काम कारबाही समाप्त भएको व्यहोरा कार्यालयमा पठाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको व्यहोरा प्राप्त भएपछि कार्यालयले त्यस्तो कम्पनी खारेज भएको अभिलेख गर्नेछ र त्यसरी अभिलेख गरेपछि त्यस्तो कम्पनी खारेज भएको मानिनेछ ।