नियम ९७
करारमा शिक्षक नियुक्ति सम्बन्धी व्यवस्था

(१) नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ति हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नु पर्ने भएमा व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालयमार्फत आयोगबाट करारमा शिक्षक नियुक्तिका लागि प्रकाशित भएको सूची प्राप्त गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट व्यवस्थापन समितिले बढीमा एक शैक्षिक सत्रको लागि करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम आयोगबाट प्रकाशित सूचीमा करारका लागि कुनै उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएका उम्मेदवारको शिक्षक पदमा नियुक्त हुन निवेदन नपरेमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम करारमा शिक्षक नियुक्ति गर्दा जिल्ला शिक्षा कार्यालयबाट दरबन्दी रिक्त रहेको व्यहोरा प्रमाणित गराएर मात्र नियुक्ति गर्नु पर्नेछ र माध्यमिक तथा निम्न माध्यमिक तहमा विषय मिल्ने गरी मात्र करारमा शिक्षक नियुक्ति गर्न सकिनेछ ।
(५) उपनियम (३) बमोजिम शिक्षक नियुक्तिको लागि गरिएको विज्ञापनको सूचना जिल्ला शिक्षा कार्यालय, सम्बन्धित विद्यालयको स्रोत केन्द्र र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा टाँस्नु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम शिक्षक पदमा नियुक्त हुन निवेदन दिने उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्र र अनुसूची–१४ बमोजिमको ढाँचामा निरोगिताको प्रमाणपत्र निवेदन साथ पेश गर्नु पर्नेछ ।
(७) विद्यालयले यस नियम बमोजिम करारमा शिक्षक नियुक्त गरेको जानकारी जिल्ला शिक्षा कार्यालयलाई दिनु पर्नेछ ।
(८) उपनियम (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा शिक्षक नियुक्त भएको एक शैक्षिक सत्रसम्म पनि रिक्त पदमा स्थायी पद पूर्ति नभएमा व्यवस्थापन समितिले यसरी स्थायी पद पूर्ति नभएसम्मका लागि एक पटकमा छ महिनामा नबढाई करारको म्याद थप गर्न सक्नेछ ।
(९) उपनियम (८) बमोजिम म्याद थपिएको जानकारी विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई दिनु पर्नेछ ।
(१०) यस नियम बमोजिमको प्रक्रिया नपुर्याई शिक्षक नियुक्ति गरिएमा जिल्ला शिक्षा अधिकारीले त्यस्तो नियुक्ति बदर गर्नु पर्नेछ ।