नियम २३
कारबाहीको लागि लेखी पठाउने
(१) प्राविधिक परीक्षकले नियम १८ बमोजिम पेश गरेको प्रतिवेदन वा नियम २० बमोजिम दिएको जानकारीको व्यहोरा जाँचबुझ गर्दा आयोजना प्रमुख वा अन्य कर्मचारीले प्रचलित कानून बमोजिम कुनै काम गरेको नपाइएमा केन्द्रले त्यस्तो प्रमुख वा कर्मचारीलाई प्रचलित कानून बमोजिम कारबाहीका गर्नको लागि सम्बन्धित मन्त्रालय वा केन्द्रीय निकायको प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष लेखी पठाउन सक्नेछ ।
(२) प्राविधिक परीक्षणको क्रममा प्राविधिक परीक्षकद्वारा माग भएको कागजात वा विवरण कुनै आयोजना प्रमुखले उपलब्ध नगराएमा वा यस नियमावली बमोजिम कुनै कार्य गर्न केन्द्रले लेखी पठाएकोमा कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थाको प्रमुखले सो अनुरुप काम नगरेमा वा केन्द्रले अनुरोध गरे बमोजिम कुनै कार्यालय वा कर्मचारीले केन्द्र वा केन्द्रबाट खटिएका व्यक्तिलाई सहयोग नगरेमा केन्द्रले सोही व्यहोरा उल्लेख गरी सम्बन्धित अख्तियारवाला समक्ष लेखी पठाउन सक्नेछ र त्यसरी लेखी आएमा अख्तियारवालाले निजको सेवाका शर्त सम्बन्धी प्रचलित कानूनको अधीनमा रही आवश्यक विभागीय कारबाही गरी सोको जानकारी केन्द्रलाई दिनु पर्नेछ ।
(३) प्राविधिक परीक्षकले पेश गरेको प्रतिवेदन जाँचबुझ गर्दा आयोजनासँग सम्बन्धित निर्माण व्यवसायी वा परामर्शदाताले कुनै अनियमित कार्य गरेको पाइएमा केन्द्रले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र सम्बन्धित निकायले पनि लेखी आए बमोजिम कारबाही गरी केन्द्रलाई जानकारी दिनु पर्नेछ ।