दफा १७
कार्यकारी निर्देशकसम्बन्धी व्यवस्था
(१) प्रतिष्ठानको प्रशासकीय प्रमुखको रुपमा काम गर्नको लागि एक कार्यकारी निर्देशक रहनेछ ।
(२) सर्वोच्च अदालतको न्यायाधीशको पदमा बहाल रहेको, पुनरावेदन अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा बहाल रहेको, सर्वोच्च अदालतको न्यायाधीशको पदमा वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा काम गरिसकेको वा पुनरावेदन अदालतको न्यायाधीश हुन योग्य व्यक्तिहरुमध्येबाट व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण कार्यमा दक्षता भएको व्यक्तिलाई न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले कार्यकारी निर्देशकको पदमा खटाउन वा नियुक्त गर्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि बढीमा चार वर्षको हुनेछ र निजको कार्य सन्तोषजनक देखिएमा निजलाई एक अवधिको लागि पुन खटाउन वा नियुक्त गर्न सकिनेछ ।
तर कार्यकारी निर्देशकको पदमा खटिएको बहालवाला न्यायाधीशलाई निजको पदावधि पूरा नहुँदै न्याय परिषद्को सिफारिसमा न्यायाधीशकै पदमा काम गर्ने गरी फिर्ता गर्न सकिनेछ ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक तथा सेवाका अन्य शर्त र सुविधासम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछन् ।