दफा २२
कार्यकारी निर्देशक
 (१) प्राधिकरणको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एकजना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले उपदफा (३) बमोजिमको सिफारिस समितिको सिफारिसमा कार्यकारी निर्देशक नियुक्ति गर्नेछ ।
(३) कार्यकारी निर्देशकको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ M–
(क) राष्ट्रिय योजना आयोगको सदस्य (सम्बन्धित क्षेत्र हेर्ने)        – संयोजक
(ख) सचिव, उद्योग मन्त्रालय                                          –सदस्य
(ग) उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, कानून,
 इन्जिनियरिङ्ग वा व्यवस्थापनको क्षेत्रमा काम गरेका विशेषज्ञहरु
  मध्येबाट समितिले तोकेको एकजना                            – सदस्य
(४) उपदफा (३) बमोजिमको सिफारिस समितिले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ्ग वा कानूनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, इन्जिनियरिङ्ग वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त व्यक्तिहरू मध्येबाट खुला प्रतिस्पर्धाको आधारमा छनौट गरी कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न तीनजनाको नाम नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।
(५) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निजको काम सन्तोषजनक देखिएमा उपदफा (३) बमोजिमको सिफारस समितिको सिफारिसमा नेपाल सरकारले पुन अर्को एक पटकको लागि निजलाई कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्न सक्नेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको वा प्राधिकरणको हित विपरीत कुनै काम कारबाही गरेको देखिएमा निजलाई नेपाल सरकारले जुनसुकै बखत कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौकाबाट बञ्चित गरिने छैन ।
(७) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ ।