दफा १३
कार्यकारी प्रमुख
 (१) बोर्डको  दैनिक प्रशासन सञ्चालन र बोर्डको कार्य सम्पादन गर्न बोर्डमा एक कार्यकारी प्रमुख रहनेछ ।
(२) कार्यकारी प्रमुख बोर्डमा पुरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ र निजको पारिश्रमिक र अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(३) देहायको योग्यता पुगेको नेपाली नागरिक कार्यकारी प्रमुख पदमा नियुक्त हुन सक्नेछ :–
(क) मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इञ्जिनियरिङ्ग वा परियोजना विश्लेषण, वाणिज्य–कानून विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव सहित उच्चस्तरको दक्षता भएको,
(ख) पैंतीस वर्र्ष उमेर पुरा भएको ।
(४) कार्यकारी प्रमुखको नियुक्तिका लागि बोर्ड समक्ष सिफारिस गर्न नेपाल सरकारले बोर्डको उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारको एकजना पूर्व सचिव सदस्य रहेको एक छनौट समितिको गठन गर्नेछ र त्यस्तो समितिले प्रतिस्पर्धाको आधारमा तोकिए बमोजिमको कार्यविधि पुरा गरी कार्यकारी प्रमुखको नियुक्तिका लागि तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।
(५) उपदफा (४) बमोजिम सिफारिस भएका व्यक्तिहरुमध्ये एकजनालाई नेपाल सरकार, मन्त्रिपरिषद्ले कार्यकारी प्रमुख पदमा नियुक्त गर्नेछ ।
(६) कार्यकारी प्रमुखको पदावधि चार वर्षको हुनेछ र निज अर्को एक अवधिका लागि पुन नियुक्त हुन सक्नेछ ।
(७) देहायको अवस्थामा कार्यकारी प्रमुखको पद रिक्त हुनेछ :–
(क) निजले आफ्नो पदबाट बोर्ड समक्ष राजीनामा दिएमा,
(ख) निजको मृत्यु भएमा ।
(ग) निजको कार्यसम्पादनको स्तर सन्तोषजनक नभई नेपाल सरकारले हटाएमा,
(घ) निजको पदावधि पुरा भएमा,
(८) उपदफा (७) को खण्ड (ग) बमोजिम नेपाल सरकारले कार्यकारी प्रमुखलाई निजको पदबाट हटाउनु अघि तोकिए बमोजिम सफाइको मौका दिनु पर्नेछ ।