नियम
कोषको स्थापना

(१) राष्ट्रिय खोप कार्यक्रमको विकास, विस्तार तथा सञ्चालन गर्ने काम समेतको लागि राष्ट्रिय खोप कोष नामको एक कोष स्थापना गरिएको छ ।

(२) कोषमा देहाय बमोजिमका रकमहरु रहने छन्:

(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) स्वदेशी व्यक्ति, वित्तीय, सहकारी वा अन्य संघ वा संस्थाबाट प्राप्त रकम,
(ग) विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट प्राप्त रकम,
(घ) कोषको लगानीबाट प्राप्त रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।

(३) उपनियम (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि कोषले अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।

(४) कोषमा प्राप्त हुने रकम प्रचलित कानून बमोेजिम इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।

(५) कोषको खताको सञ्चालन सदस्य–सचिव र कोषको लेखा सम्बन्धी कार्य गर्ने प्रमुख कर्मचारीबाट हुनेछ ।