नियम
खर्च गर्ने प्रक्रिया

(१) कोषको रकम ऐनको दफा १३ को उपदफा (१) ले तोकेको काम वा प्रयोजनमा मात्र खर्च गरिनेछ । सो काम वा प्रयोजनमा खर्च गर्न देहायका प्रक्रिया पूरा गर्नु पर्नेछ :–

(क) कोषको अवस्था र कोषमा प्राप्त हुने रकम समेत विचार गरी सचिवालयले कोषबाट गरिने कामको लागि चालू भैरहेको योजना र नयाँ योजनाको वार्षिक कार्यक्रम र त्यसमा लाग्ने रकम समेत खुलाइएको वार्षिक बजेट तयार गरी समिति समक्ष आर्थिक वर्ष प्रारम्भ हुनु भन्दा कम्तीमा दुई महिना अगाडि नै पेश गर्नु पर्नेछ ।
(ख) खण्ड (क) बमोजिम कोषको कार्यक्रम र बजेट तयार गर्दा कुनै प्रस्तावित योजनाको सम्भाव्यता अध्ययन, आर्थिक तथा प्राविधिक उपयुक्तताको आधारमा त्यस योजनाबाट हुने प्रतिफल समेत विचार गरी समितिबाट निर्णय हुनु पर्नेछ ।
(ग) खण्ड (ख) बमोजिम प्रस्तावित योजनाका लागि विस्तृत सर्वेक्षण, ड्रइङ्ग, डिजाइन, लागत अनुमान र सो योजना कार्यान्वयन गर्न लाग्ने समय समेत निश्चित गरी योजना स्वीकृत भएको हुनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले स्वीकृत कार्यक्रममा आवश्यकता अनुसार थपघट वा परिमार्जन गर्न सक्नेछ ।
(३) वैदेशिक सहायता सम्बन्धी सम्झौता भएपछि सम्झौताको एकप्रति सात दिन भित्र अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयमा पठाउनु पर्नेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सहायताबाट कोषमा जम्मा भएको रकमले सञ्चालन गरिने कुनै कार्य वा प्रयोजनका लागि खर्च गर्दा दातृ पक्षसंग भएको सम्झौता बमोजिम गर्नु पर्नेछ ।