(१) लेखपढ गर्न जान्ने व्यक्तिले खाता खोल्दा बैङ्कले तोकेको फाराममा आफ्नो दस्तखतको नमूना लेखी र लेखपढ गर्न नजान्ने व्यक्तिले खाता खोल्दा बैङ्कले तोकेको फाराममा आफ्नो बूढी औंलाको छाप लगाई, अन्य कुनै खातावाला वा हुलाक अड्डाका कुनै कर्मचारीबाट त्यसको समर्थन गराई हुलाक हाकिम समक्ष निवेदन गर्नु पर्छ ।
(२) खातावालाले खाता खोल्दा आफुले पाउनु पर्ने रकम आफ्नो शेष पछि झिक्न दुई जना व्यक्तिसम्म इच्छाउन सक्नेछ ।
(३) संयुक्त खाता खोल्दा खातावालाहरू सबैको संयुक्त दस्तखतबाट वा खातावालाहरूमध्ये कुनै एकको दस्तखतबाट खाता सञ्चालन हुने गरी खाता खोल्न सकिनेछ ।
(४) एक खातावालाको मृत्यु भएमा जीवित खातावालाले खाताको सबै रकम झिक्न पाउने शर्त तोकी संयुक्त खाता खोल्न सक्नेछ ।
(५) संघ संस्थाको खाताको सञ्चालन सो संघ सस्थाको दुईजना पदाधिकारीको संयुक्त दस्तखतबाट गर्नु पर्छ । निजहरू बदलिएमा त्यसको लिखित जानकारी सम्बन्धित हुलाक अड्डालाई तुरुन्त दिनुपर्नेछ र साथै सो खाता संचालनको लागि अधिकृत गरिएको नयाँ पदाधिकारीको दस्तखतको नमूना पनि हुलाक अड्डामा पठाउनु पर्नेछ ।