दफा ११
खानतलासी र पक्राउ गर्ने अधिकार

(१) कुनै व्यक्तिले यस ऐन अन्तर्गत कसुर गरेको छ वा निजसँग वर्गीकृत लिखत अनधिकृत तवरले रहेकोछ भन्ने विश्वास गर्नु पर्ने मनासिव माफिकको कारण भएमा नेपाल सरकारले वारेण्ट जारी गरी त्यस्तो व्यक्तिलाई गिरफ्तार गर्न वा जुनसुकै समय त्यस्तो व्यक्तिको घर जग्गामा प्रवेश गरी खानतलासी गर्न वा निजको जिउ वा निजको मालसामानको खानतलासी गर्न र सोसँग सम्बन्धित मालसामान कब्जा गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको अवस्थामा कसुरदार भागी जाने वा कसुरको सबूद गायब गरिने सम्भावना देखिएमा नेपाल सरकारले त्यस्तो व्यक्तिलाई वारेण्ट जारी हुनु अघि पनि गिरफ्तार गर्न र सो कामको लागि कुनै पनि घर जग्गामा कुनै समयमा पनि प्रवेश गर्न सक्नेछ । त्यस्तो कसुरदार कुनै सवारी साधनद्वारा उम्कन लागेमा नेपाल सरकारले त्यस्तो सवारीलाई कुनै ठाउँमा रोक्न वा उतार्न लगाउन सक्नेछ ।