नियम ३१
खास प्रकृतिका मुद्दा हेर्न न्यायाधीशको समूह गठन गर्न सक्ने
(१) प्रधान न्यायाधीशले खास प्रकृति वा विषयका मुद्दाहरू खास न्यायाधीशहरूको समूहले हेर्ने गरी न्यायाधीशहरूको समूह गठन गर्न  सक्नेछ ।
(२) उपनियम (१) बमोजिम समूह गठन भएकोमा सो समूहलाई तोकिएका मुद्दाहरू प्रधान न्यायाधीशले तोकेका सोही समूहभित्रका न्यायाधीशहरूबाट कारबाही र किनारा  हुनेछ ।
(३) उपनियम (१) बमोजिम समूह गठन भएकोमा समूहका वरिष्ठतम् न्यायाधीशले समूहको संयोजकको रूपमा काम गर्नेछ ।
(४) समूहलाई तोकिएका मुद्दाहरूमा इजलास गठन गर्दा प्रधान न्यायाधीशले आवश्यकता अनुसार समूहका संयोजकसँग परामर्श गर्न सक्नेछ ।
(५) उपनियम (१) बमोजिम समूहको लागि मुद्दा तोक्दा लगाउका मुद्दाहरू मूल मुद्दा रहेको समूहबाट कारबाही र किनारा गर्ने गरी तोकिनेछ ।
स्पष्टीकरण : यस उपनियमको प्रयोजनका लागि “मूल मुद्दा” भन्नाले इजलासबाट अन्यथा आदेश भएकोमा बाहेक जुन मुद्दा पहिले दर्ता भएको छ सो मुद्दा र एकै मितिमा दर्ता भएका देवानी र फौजदारी मुद्दा रहेछ भने देवानी मुद्दालाई जनाउँछ ।
(६) प्रधान न्यायाधीशले आवश्यकता अनुसार समूहमा तोकिएका न्यायाधीशलाई हेरफेर गर्न   सक्नेछ ।
(७) समूहमा तोकिएका कुनै न्यायाधीशलाई आवश्यकता अनुसार समूहलाई तोकिएको मुद्दाको अतिरिक्त अन्य मुद्दा समेत हेर्ने गरी तोक्न सकिनेछ ।